Harsamaya
पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ :बिमलेन्द्र निधि
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि ।

काठमाडौं - नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेपाल पानी नै पानी भएको देश भएतापनि पिउने पानीको हाहाकार भइरहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघद्वारा शनिबार जनकपुरधाममा आयोजित कार्याशाला गोष्ठीमा बोल्दै नेता निधिले शुद्ध पिउने पानीको व्यवस्था गर्न सरकारले वैज्ञानिक नीति अवलम्बन गर्न आवश्यक रहेको धारणा राखेका हुन् । 

उनले तराई मधेशका क्षेत्रहरूमा जमिन मुनी पानीको स्तर कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरू अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए ।

काठमाडौंमा मेलम्चीको पानी आउने भन्दा भन्दै कयौं पटक प्रयास गरेतापनि अहिलेसम्म सहज रूपमा जनताले पानी पाउन नसकेको उनले गुनासो गरे । 

तराई क्षेत्रमा चुरे विनाशका कारण जमिन मुनीको पानीको स्तर घट्दै गएको उनले बताए । अब सरकारले नदी र झरनाको पानीलाई पिउन लायक बनाउने प्रविधि जडान गर्न उनले सुझाव दिए ।

त्यस्तै, नेता निधिले नेपाल खानेपानी संस्थानले अहिलेसम्म दिँदै आएको सुविधाको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा जनतालाई प्रदान गर्न आग्रह गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update