
काठमाडौं - २०८१ साल असोज महिनाको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद् कहिल्यै सामना गर्नु नपर्ने गरी तयारी गर्नु पर्ने अवस्था आएको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् ।
आज विश्व बैङ्कका प्रतिनिधिहरूसँग कुराकानी गर्दै उनले भनिन्, ‘पूर्व तयारीका काम तत्काल थाल्नुपर्छ । तथ्य संकलन र मूल कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्छ । यो सहरी विकासका लामो चरणले सिर्जना गरेको अवस्था हो । साझेदारहरुसँग समन्वय र सहकार्य गरेर विगतमा भएको त्रुटि सच्याउँदै जानुपर्छ ।’
‘काठमाडौंका नदीमा यो तहमा पानीको बहाव मेरो पुस्ताले देखेको थिएन । यस्तो खालको समस्या भोग्नु परेको थिएन । त्यो दुखद क्षणलाई सिकाइ मानौँ । आगामी दिनमा काठमाडौंले यस खालको विपद् भोग्नु नपरोस् ।’
‘सहरी विकासका सवालमा प्रश्नहरू छन् । चुनौतीहरू छन् । समाधानका उपाय छन् । यी सबै पक्षको विश्लेषण गरेर महानगरपालिकाले नदी सुधार गुरुयोजना तयार पारिरहेको छ ।’ बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरहरूले गरेको प्रयत्न काठमाडौंका लागि सिकाइ नहुन सक्छ । काठमाडौंको भूगोल, सहरी बस्ती, नदी प्रणाली अन्य सहरहरूभन्दा फरक छ ।’
छलफलमा वल्र्ड बैङ्कको पूर्वाधार क्षेत्रका कार्यक्रम प्रमुख गायत्री सिंहले भने, ‘काठमाडौं महानगरपालिकाले विकास निर्माण र विकास व्यवस्थापनका साझेदार तथा सरोकारवालालाई एउटै ठाउँमा ल्याउन सक्ने क्षमता राख्छ । महानगरपालिकाको यो क्षमतालाई उपयोग गरेर सहरलाई विपदको खतराबाट बचाउन सकिन्छ ।’ सहरमा फैलिने डेङ्गी संक्रमणको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले थपे, ‘डेङ्गी फैलिनु भनेको बर्खाको पानीको उचित व्यवस्थापन गर्न सकिएको छैन भन्ने हो । हेर्दा सामान्य जस्तो लागे पनि यसले सहरको अर्थतन्त्र, जनस्वास्थ्य, वातावरण र सामाजिकताको चक्रमा गहिरो नकारात्मक प्रभाव राख्छ । यसलाई घटाउन पनि बर्खाको पानी व्यवस्थापन प्रणाली बनाउनुपर्छ ।’
छलफलमा बर्खाको पानी व्यवस्थापन गर्न नसक्दा हुन सक्ने समस्याहरूका बारेमा चर्चा गर्दै, घरेलु फोहर व्यवस्थापन, फोहर पानीको प्रशोधन, सहरी पूर्वाधारमा नदी प्रणाली र नदी प्रणालीमा सहरी पूर्वाधारको सम्बन्ध लगायत पक्षबाट जोखिम न्यूनीकरणका सम्भावनामा कुरा भएको थियो । नदीको प्राकृतिक वहाव, मानवीय क्रियाकलापले सतहको पानी तथा ढलको पानी निकासमा पार्ने प्रभाव र यस्ता प्रभावले समग्र सहरको स्थितिमा ल्याउने असरको पूर्वानुमान गरेर तयारीका काम थाल्नु पर्नेमा बैठकका अधिकारीहरूको जोड थियो ।
बैठकमा महानगरपालिकाको विपद् व्यवस्थापन विभाग र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय तथा विश्व बैङ्कका वरिष्ठ सहरी विद र सहरी विकास परामर्शदातासहित अधिकारी सहभागी थिए ।