
काठमाडौं - सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने आईपीओ बाँकी कित्ता जेठ १३ गतेसम्म निष्कासन हुनेछ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने छ ।बिक्री प्रबन्धकसँगै नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।
मेरो सेयर अनलाइनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि यसअघि नै निष्कासन गरेको थियो।
त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ५८ हजार २०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ।