ललितपुर - ललितपुरकी स्नेहा श्रेष्ठले आफ्नो घरमा एउटा कुकुर पालेकी थिइन् । नाम थियो–‘जारा’ । एक दिनको घटना हो, ‘जारा’लाई छिमेकीले विष खुवाइदिए । लामो समयको छटपटाहट र पीडा सहेर ‘जारा’ले मृत्युवरण गर्यो । परिवारको सदस्यझैँ अत्यन्तै माया गरेर पालेको जाराको मृत्युपछि स्नेहा उजुरी लिएर प्रहरीकहाँ पुगिन । तर प्रहरीले उजुरी नै दर्ता गरेन ।
एउटा निर्दोष जनावरको निर्मम तरिकाले हत्या भएपछि स्नेहा भावुक बनिन् । कानुनी कारबाहीको प्रक्रिया पनि अघि नबढेपछि उनले कठोर सोच, निडर विश्वास र लगनशीलताका साथ जीवनलाई नयाँ बाटोतर्फ डोर्याइन । प्राणी प्रेमी अर्थात् पशु अधिकारकर्मी बनेर उनले सयौँ ‘जारा’हरूलाई नयाँ जीवन दिइरहेकी छन् ।
भनिन्छ, जीवनमा कुनै राम्रो परिवर्तन र सफलताको लागि मानिसले खराब र कठोर परिस्थितिको सामना गर्नुपर्छ । सकारात्मक पलको पर्खाइमा तितो अनुभूतिलाई आत्मसाथ गर्ने आँट र साहस राख्नुपर्छ । परिस्थिति नै त्यस्तो बनिदिन्छ कि कति बेला कुन घटनाले मानिसको पूरै जीवनलाई नसोचेको बाटोतिर मोडिदिन्छ ।
त्यसैले त स्नेहाले तितो अनुभवलाई मिठो रूपमा ग्रहण गरेर सयौँ प्राणीको जीवन बदलिदिएकी छन् । हुन त उनीमा ‘एनीमल केयर सेन्टर’ खोल्ने सोच पहिले कहिल्यै आएको थिएन । तर आफ्नै सन्तान सरहको ‘जारा’को हत्यापछि विक्षिप्त बनेकी उनले बेवारिसे बनेका सयौँ प्राणीहरूको नयाँ जीवन दिइरहेकी छन् । बेवारिसे अवस्थामा रहेका जनावरहरूको सहारा बनेकी छिन् र जनावर प्रेमी बनेर आफ्नो परिचय बदलेकी छिन् ।
आफ्नै घरमा भएको दुःखद घट्नापछि एनिमल केयर सञ्चालनमा ल्याउने सोचका साथ २०१४ देखि कानुनी रूपमा ‘स्नेह केयर’दर्ता गरेर उनले जनावरहरूको सेवा सुरु गरिन् ।
उनी भन्छिन् ,‘२०१४ देखि कानुनी रूपमा ‘स्नेह केयर’ रजिस्टार गरेर सुरु गरेर काम सुरु गरेकी हुँ । खासमा मेरो कुकुरलाई छिमेकीले पोइजन खुवाएर मारिदिए । कुकुरलाई बचाउन सकिन । कुकुरलाई जसले पोइजन खुवाएको थियो उसलाई कानुनी कारबाहीमा ल्याउन पनि सकिएन । सोही घटनापछि ‘स्नेह केयर’ सुरु गरेकी हुँ ।’
उनले कुकुर मात्र नभएर गाईका बाच्छाहरू, भैँसीहरु,मन्दिरमा बलि दिन लगेको बोकाहरु, बुढो भएर दुध नदिने गाइहरुको उद्धार गरेकी छिन् ।
उनी भन्छिन् ,अहिले यहाँसम्म आइपुग्दा सडकमा बेवारिसे छाडेका बाच्छा, भैँसी, मन्दिरमा बलि दिन लगेको बोका, खसी, बुढो भएर दुध नदिने भएपछि छाडिएका गाई भैँसीको उद्धार सुरु गरेको हुँ । यसबिचमा सुँगुरहरूको पनि उद्धार गरेका छौँ । सुरुवातीमा कुकुरको उद्धार वाट कामको थालनी गरे पनि अहिले सबै जनावरलाई माया गर्छु । उद्धार गर्छु ।’
स्नेहा केयरमा हाल १५० भन्दा बढी कुकुरहरू छन् । रातमा उनीहरू भुक्दा बाधा पुर्याउने भएको कारण छिमेकीहरूबाट हटाउन दबाब आइरहेको उनले सुनाइन् ।
‘काम सुरु गर्ने बेला यहाँ घरहरू थिएनन् । हाल यहाँ आसपास ३०–४० वटा घर बनिसकेका छन् । भुकेर बाधा पुगेपछि हामीसँग विकल्प छैन । यहाँबाट अन्त सर्न खोजिरहेको छौँ तर हामीलाई समय दिनुको सट्टा आजै जाऊ, भोली नै जाउ भनेर दुःख दिइरहेको छन् । वडामा गएर हामीले गर्दा रेबिज धेरै फैलियो भनेर गुनासो गर्नुहुन्छ । तर रेबिज कम गराउन यस्तो काम गरिरहेका छौँ । यस्तो कुरा कसले बुझिदिने ।
केयर सेन्टरमा लाग्ने खर्च जुटाउन कठिन भइरहेको बेला सेन्टर नै सार्नुपर्ने कुराले तनाव महसुस भइरहेको उनले सुनाइन् ।
उनका अनुसार स्नेह केयरलाई आवश्यक पर्ने आर्थिक सहयोग स्वदेश तथा विदेशमा बस्ने केही नेपालीहरूबाट हुँदै आएको छ । कोही सेन्टरमा आउँदा जनावरलाई नुहाइदिन स्याम्पु र साबुन बोकेर आउँछन् त केही भाइबहिनीले विद्यालयको खाजा खर्च समेत जोगाएर सहयोग गर्न आउने गरेको उनले सुनाइन् ।
उनले भनिन्, ‘जनावरहरूलाई नै खुवाउन भनेर ठुलो रकम आउँदैन । तर नेपालीहरूको मन धेरै ठुलो छ । विदेशमा रहनुभएका नेपाली मन र स्कुल–कलेजमा पढ्ने भाइ बहिनीहरूले आफ्नो खाजा खर्चबाट जोगाएर स्याम्पु, डग फुडहरू लिएर आउनुहुन्छ । भिजिटरहरुले डोनेट गर्नुहुन्छ । सहयोग गर्नेमा १० प्रतिशत विदेशी र ९० प्रतिशत नेपाली नै हुनुहुन्छ । सोही सहयोगले फाउन्डेसन चलिरहेको छ । तर अब नयाँ सेन्टर बनाउनको लागि चाहिँ ठुलो चुनौती छ ।’
उनले सरकारबाट त्यति धेरै सहयोग पाएकी छैनन् । ललितपुर महानगरपालिकाले कुकुरहरू बन्ध्याकरण गर्न समन्वय गर्नका साथै एउटा एम्बुलेन्स प्रदान गरेको छ ,तर एउटा मात्र एम्बुलेन्स भएको कारण जनावर प्रेमीहरूले भनेको सबै ठाउँमा उद्धारको लागि एकै पटक पुग्न सम्भव नहुने उनको गुनासो छ ।
त्यस्तै स्नेहाको अनुसार सरकारबाट जनावरहरूको लागि भनेर बजेट अहिलेसम्म कुनै पनि जनावरको सेवा गर्ने संस्थाले पाएको छैनन् । देशमा जनावरको लागि ठोस नियम,कानुन नभएको भन्दै भएका ढुवानी मापदण्डहरू र पशुकल्याण निर्देशिकाहरू पनि कागजमा मात्र सीमित रहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘पशुपन्छी विभाग, कृषि मन्त्रालयले जनावरहरूको हेरचाहका लागि बजेट अहिलेसम्म कुनै पनि जनावरको सेवा गर्ने संस्थालाई दिएको छैन । देशमा जनावरको लागि कानुन नै छैन । ठोस नियम कानुन नै छैन । केही गाइडलाइनहरू मात्र छन् । पशुकल्याण निर्देशिका छ, ढुवानी मापदण्डहरू छ । तर कागजमा सीमित छ ।’
पहिलेको तुलनामा जनावर प्रेमीको सङ्ख्या बढेको उनको ठम्याइ छ । विशेष गरी युवा पुस्तामा धेरै जनावरप्रति प्रेम बढेको उनी बताउँछिन् ।
‘सडकमा बेवारिसे जनावरहरूको अवस्था त उस्तै नै छ । तर अहिले जनावरप्रेमी चाहिँ बढेका छन् । चेतना अलि बढेको छ । विशेष गरी युवा पुस्तामा जनावरप्रति प्रेम बढेको छ । घरबाट दिएको पकेट खर्चबाट कहिले डग फुड, स्याम्पु किनेर ल्याउनुहुन्छ,’ उनले भनिन् ।
सरकार र प्रहरीहरूबाट सहयोग नपाएको कारण सयौँ घटनामा संलग्न दोषीहरूलाई सजाए दिलाउन नसकेको उनले दुखेसो गरिन् ।
उनले भनिन्, ‘जारा मारेको एउटा घटना भयो । तर त्यस्ता घटना सयौँ भइरहेका छन् । निवेदन नै नलिएको कारण दोषीहरूलाई कारबाही गर्न सकेका छैनौँ । किनकि सरकारी क्षेत्र र प्रहरीहरूबाट सपोर्ट छैन ।’
जनावरको सेवा र संरक्षणका लागि ‘एनीमल केयर’ स्थापना गरेकी स्नेहा अहिले धम्की र डरको वातावरणमा काम गरिरहेकी छन् । जनावरमाथि हुने हिंसाविरुद्ध आवाज उठाएबापत उनी ठूलाठूला व्यक्तिहरूबाट धम्कीको शिकार बनेकी छिन् ।
‘काम गर्दै जाँदा ठुलाबडाबाटै फोनमा धम्की आउन थाल्यो, उनले भनिन् ‘तर प्रहरीमा दिएको निवेदन मैले फिर्ता लिइन। फिर्ता नलिएपछि उनीहरू एनिमल केयरमै आइ धम्काएका छन् । दिनदिनै केस फिर्ता लिनुस् भनेर दबाब आउन थालेको छ ।’
स्नेहाका अनुसार, एउटा गाईमाथि क्रूर व्यवहार गर्ने व्यक्तिविरुद्ध उनले उजुरी दिएकी थिइन् । गाइलाई उद्धार गरेको थियौं । उसको ढाड र खुट्टा भाँचिएको थियो । मैले प्रहरीमा उजुरी दिएर त्यो मान्छे थुनामा पनि पुग्यो । तर मलाई यहाँ आएर सांसद एवं नेताहरूले धम्की दिएर गए । मैले नाम राखेको गौरी गाईसँगै वाचा गरेकी थिएँ । जसले यस्तो अवस्थामा पुर्यायो उसलाई कारबाही गर्छु भनेर । त्यो व्यक्ति थुनिएपछि धम्की झन् बढ्यो, ’उनले थपिन् , ‘पछि थाहा भयो, उसले अरू धेरै जनावर पनि पालेको रहेछ । अन्ततः म बाध्य भएर निवेदन फिर्ता लिनपर्यो ।’
साथै उनले नेपालमा जनावरप्रतिको क्रूर व्यवहारविरुद्ध बोल्न कठिन रहेको बताइन् । ‘केस दर्ता गर्ने बित्तिकै ठूलाठूला मान्छेहरूको फोन आउँछ,’ स्नेहाले भनिन्,‘कसैले आँखा फुटाइदिन्छन्, कसैले तातोपानी र एसिड खन्याउँछन् । यस्ता थुप्रै घटना छन् जुन खुल्न सकेका छैनन् ।’
स्नेहाले बाल्यकालदेखि नै पाठ्यक्रममा जनावरप्रतिको माया सिकाउनुपर्ने आवश्यकता औँल्याइन् । ‘हामीले प्रोटिन, क्याल्सियमका कुरा त पढ्यौँ, तर जनावरप्रति माया, जिम्मेवारी र बफादारीबारे केही पढेनौँ । बाटोमा कुकुर देख्दा ढुङ्गा हान्नु हुन्न भन्ने कुरा पनि बाल्यकालदेखि सिकाउनुपर्छ ।’
सरकारको उदासीनताप्रति पनि उनी असन्तुष्ट छिन् । ‘नेपालमा गाई र कुकुरलाई पूजा गरिन्छ, तर तिनको लागि कानुन छैन भन्ने त लज्जास्पद कुरा हो, उनी भन्छिन्,‘सरकारले कानुन नबनाए पनि चुप लागेर बस्दैनौँ ।’
साथै उनले जनावरप्रतिको संवेदनशीलता बढाउनु र कानुनी संरक्षण सुनिश्चित गर्नु आफ्नो मूल उद्देश्य भएको बताइन् ।
स्नेह केयरले प्यारालाइसिस भएका कुकुरलाई छुट्टै वार्डमा राख्ने र उनीहरूलाई हिँडडुल गराउन ह्विलचियरको व्यवस्था गर्ने गरेको छ । त्यस्ता ह्विलचियर नेपालमा नबन्ने भएकाले विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको स्नेहाले जानकारी दिइन् ।

