काठमाडौं - मण्डला थिएटर नेपालले चर्चित अन्तर्राष्ट्रिय नाटक ‘द प्ले द्याट गोज रङ’ को नेपाली रूपान्तरण ‘गाण्ड रिहर्सल’ मञ्चन हुँदैछ । शुक्रबार देखि मण्डलामा मञ्चन सुरु भएको हास्यप्रधान यो नाटकले रंगमञ्चमै हुने गल्ती, अव्यवस्था र अनपेक्षित घटनालाई केन्द्रमा राख्दै दर्शकलाई मनोरञ्जन दिने लक्ष्य राखेको छ।
नाटक २०८३ वैशाख ११ गतेदेखि जेठ ३ गतेसम्म मञ्चन गरिनेछ। करिब १ घण्टा ३० मिनेट लामो यो नाटक सोमबार बाहेक हरेक दिन साँझ ५:३० बजे प्रदर्शन हुने नाटकलाई शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ ।
नाटकको रूपान्तरण अनुप बुढाथोकी र उमेश तामाङले गरेका छन् भने निर्देशन पनि उमेश तामाङले नै गरेका छन्। निर्माण बुद्धि तामाङले गरेका छन्। कलाकारहरूमा अनुप न्यौपाने, मिलन कार्की, रुजा राउत, रक्षा थापा, सन्तोष गिरी, श्रीसेश श्रेष्ठ, अमिर ताम्राकार, सुजन घिमिरे, बलबहादुर राई र राजुबाबु कार्की रहेका छन् ।
ठूलो टिमले अभिनय गर्ने यस नाटकमा हास्य, अव्यवस्था र ‘गल्तीमै रमाइलो’ हुने शैली मुख्य आकर्षण रहेको छ। आयोजकका अनुसार, दर्शकले रंगमञ्चमा प्रायः देख्न नपाइने फरक किसिमको प्रस्तुति अनुभव गर्नेछन्, जहाँ नाटकभित्र नाटक बिग्रिने क्रम नै मुख्य कथा बन्नेछ।
कुनै चीज मिस्टेक भयो भने हामी हास्न रुचाउँछौं नि हो त्यही नै मिस्टेक नै मिस्टेकको कलेक्सन गरेर उत्कृष्ट नाटक बनेको रहेछ कुमार बलामीले दाबी गरे । यता सीता अमात्यले पनि नाटक अति नै राम्रो भएको बताएकी छिन् । ‘नाटक यस्तो हुन्छ भन्ने मैले सोचेको थिइन्, सुरु देखि अन्त्यसम्म रंगकर्मीहरूले कस्तो राम्रोसँग प्रस्तुति दिएका, यसरी हसाउँला भन्ने सोचेकी थिइन’ नाटक हेरेपछि सीताले भनिन् ।
हलिउडका चर्चित अभिनेता विलियम डाफोलेसमेत एक भिडियो सन्देश पठाउँदै यस नाटकका लागि शुभकामना व्यक्त गरेका थिए । उनले यो नाटक हेर्न पनि नेपाली दर्शकलाई अनुरोध गरेका छन् ।

