Harsamaya
स्रोत नखुलेको २५ लाख रुपैयाँसहित साँगाबाट दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काभ्रे - काभ्रेको साँगा चोकबाट प्रहरीले स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना सिन्धुपाल्चोक र अर्का सप्तरीका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ निवासी २१ वर्षीय राजन धमला र सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय सञ्जयकुमार साह रहेका छन्।

उनीहरू मंगलबार अपराह्न ४:३० बजे पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस (बा ३ ख २४१६) मा सवार थिए। बनेपा नगरपालिका–१४ स्थित साँगा चोकमा चेकजाँच गर्ने क्रममा राजन धमलाले बोकेको रातो झोलाबाट नगद २५ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीले रकमको स्रोत खुलाउन माग गरेको भए पनि कुनै प्रमाण वा ठोस विवरण नदिएको भन्दै दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसन्धान सुरु गरिएको जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update