Harsamaya
राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन - लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यसत्ताविरुद्ध सुरु गरेको परिवर्तनको लडाइँ एकै दिनमा पूरा नहुने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना, रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘राज्यसत्ताको विरुद्धमा जुन परिवर्तनको लागि लडाई सुरु गरेका छौं त्यो एकै दिनमा हुने कुरा होइन् । मैले पाएँ भने त आजै सत्ता फेरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने छ । तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन् भन्ने कुरा हेर्नुपर्छ । त्यस कारण योजना, रणनीति भन्ने कुरालाई बिर्सिनु हुँदैन् ।’

यस्तै, उनले नेपालमा भएका ठूला ठूला परिवर्तन चुनावबाट नभएको भन्दै अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस भन्ने सोचेर अगाडि बढि रहेको बताए । 

उनले भने, ‘आन्दोलन मूल रूपमा प्रदर्शन र घेराउबाटै हाम्रो मान्यता स्थापित गर्ने बाटोमा लागि रहेका छौं । त्यो तरिकाले आन्दोलन अगाडि बढाइ रहेका छौं । नेपालमा भएका कुनैपनि परिवर्तन चुनावबाट भएको छैन । ०७ साल, ०१७, ०४६, ०६२/६३ सालमा भएको कुनै पनि परिवर्तन चुनावबाट भएको होइन । त्यस कारण हामीले अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस भन्ने सोचेर अगाडि बढिरहेका छौं ।’

उनले समझदारीबाट पनि राजसंस्था स्थापना हुनसक्छ भन्ने विश्वास लिएको भन्दै राजादेखि लिएर अहिलेका सबै राजनीतिक दलहरूलाई ठाँउ दिएर देशलाई निकास दिने हिसाबले अगाडि बढ्न पनि आह्वान गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update