
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरू नियन्त्रणमा लिन सकेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै काम गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ–जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन् । तर त्यसपछिका गृहमन्त्रीहरू तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् । यो हो हामीले गर्ने स्टन्ट । राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृह मन्त्रालय सम्हाल्दै गर्दा कसरी तस्करी नियन्त्रण गरेका थियौँ भन्ने कुरा स्टन्ट हो ?’
साथै उनले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गइरहेको बताए । उनले न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कहीँ कतै नरहेको बताए । उनले भने, ‘आज न्यायालयहरूले विभिन्न संरक्षण त दिइरहेको छ तर यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भइरहेको छ । न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कमजोर हुँदै गएको छ ।’