
हेटौँडा - बागमती प्रदेश सरकारले ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले कार्यक्रम आयोजना गरी आइतबार खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।
बागमती प्रदेश जिल्लामा जन्मेर खेलकुद क्षेत्रका सक्रिय जीवन बिताएर देशको नाम उच्च बनाएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो । उत्कृष्ट वर्ष खेलाडी अवार्डका रूपमा महिलातर्फ कराँतेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको छ । उनीहरूलाई नगद १/१ लाख रुपैयाँसहित अवार्ड प्रदान गरिएको थियो ।
कराँतेकी खेलाडी एरिकाले २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् भने १९औँ एसियाली खेलकुदमा २५ वर्षपछि देशका लागि रजत पदक जितेकी थिइन् । उनले पहिलो पटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजत पदक दिलाएकी थिइन् । उनले २ वर्षको खेल अवधिमा ८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट ५ स्वर्ण र ४ रजत पदक जितेकी छिन् ।
खोखो खेलका एक सदस्यका रूपमा रहेका राजन उत्कृष्ट वर्ष खेलाडीका रूपमा पुरस्कृत भएका छन् । खोखो विश्वकपमा दोस्रो स्थान हासिल गर्दा राजन टोलीका महत्त्वपूर्ण सदस्यका रूपमा रहेका थिए । उनले देशका लागि १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा पनि पदक प्राप्त गरेका थिए ।
एथलेटिक्सका बैकुण्ठ मानन्धर र जित बहादुर केसीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड मार्फत सम्मान गरिएको छ । उनीहरूलाई नगद १÷१ लाख रुपैयाँसहित अवार्ड प्रदान गरिएको छ । बैकुण्ठले दक्षिण एसियाली खेलकुद (साग) को पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथनमा स्वर्ण पदक जितेका छन् । उनको साग म्याराथनमा सन् १९८७ मा उनले बनाएको २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमानी रेकर्ड ३८ वर्षसम्म कायमै रहेको छ ।
जितबहादुर नेपाली खेलकुद क्षेत्रका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी हुन् । सन् १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जितेका थिए । उनले देशका लागि खाली खुट्टा दौडिएका थिए ।
समारोहमा ‘बागमती शान’ अवार्डबाट तेक्वान्दोकी सँगिना वैद्यलाई सम्मान गरिएको थियो । वाइल्ड कार्डको भरमा ओलम्पिकमा उपस्थिति जनाउँदै आएको नेपालका लागि सँगिना ट्रनिङ्ग प्वइन्ट बनेकी थिइन् । सँगिना सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन् ।
त्यस्तै समारोहमा उत्कृष्ट प्रशिक्षक अवार्डबाट पलेशा गोवद्र्धनका प्रशिक्षक कवि राज नेगी, उत्कृष्ट पत्रकार अवार्डबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, लोकप्रिय खेलाडीका रूपमा फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई अवार्डसहित सम्मान गरिएको थियो ।
उत्कृष्ट पारा तेक्वान्दो खेलाडी अवार्डबाट पलेशा गोवद्र्धन, युवा खेलाडी अवार्डबाट गल्फका सद्भाव आचार्य र उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट ललितपुरका विनोद महर्जन सम्मानित भएका थिए ।
उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित मन्त्रीहरू, बागमती प्रदेश सभा सदस्यहरू, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको उपस्थिति रहेको थियो