Harsamaya
सुनकोशी गाउँपालिकाले भन्यो: ठोकर्पाको स्वास्थ्य चौकी भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री बस्नेतबाट नगर्नू
पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत र सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना ।

सिन्धुपाल्चोक - सुनकोशी गाउँपालिकाले ठोकर्पामा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले गर्ने प्रचार देखेपछि आपत्ति जनाएको छ । 

गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका बस्नेतबाट भवनको उद्घाटन गर्ने तयारीको प्रचार प्रसार भइरहेको पाइएको भन्दै आपत्ति जनाएका हुन् । 

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स उपकरण खरिद प्रकरण सम्बन्धी अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । गाउँपालिका भित्र सकिय प्रमुख राजनीतिक दलहरूले समेत गम्भीर आपत्ति जनाउँदै अदालतमा मुद्दा दर्ता भइसकेका अभियुक्तका रूपमा रहेका व्यक्तिबाट स्वास्थ्य संस्थाको उद्घाटन नगर्न माग गर्दै संयुक्त प्रेस विज्ञप्तिसमेत जारी भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको सहमति र समन्वयविनै कुनै पनि व्यक्ति वा संस्थाबाट सो भवनको उद्घाटनको प्रयास गर्नु संविधान, प्रचलित कानुन तथा स्थानीय स्वायत्तताको गम्भीर उल्लंघन भएको जनाएको छ ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ११ को उपदफा २ (झ) मा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा सञ्चालन व्यवस्थापन र सम्बन्धित संरचनाहरूको हस्तान्तरण स्थानीय तहको जिम्मेवारीमा पर्छ। त्यसैले, गाउँपालिकाको सहमति र समन्वयविनै कुनै पनि व्यक्ति वा संस्थाबाट सो भवनको उद्घाटनको प्रयास गर्नु संविधान, प्रचलित कानुन तथा स्थानीय स्वायत्तताको गम्भीर उल्लंघन हो’, विज्ञप्तिमा भनिएको छ । 

पालिकाले  कुनै पनि संघ- संस्थाले गाउँपालिकाको लिखित अनुमतिबिना उद्घाटन कार्य गरेमा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई कार्यक्रममा सहभागिता नजनाउ पनि अनुरोध गरेको छ । गाउँपालिकाको अनुमति बिना उद्घाटन कार्य जबरजस्ती अगाडि बढाइएमा त्यसबाट उत्पन्न हुने सबै प्रकारका कानुनी, प्रशासनिक तथा अन्य जटिलताको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले वहन गर्नुपर्ने पनि विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

शहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण गरेको सो भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्ने गाउँपालिकासँग मौखिक सहमति भएको थियो । 

sunkosi-1747563456.jpg
 

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update