Harsamaya
छुट्टै ऐन बनाएर ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे
ललितपुरमा घर तथा भवनको अभिलेखीकरण अभियान ।

काठमाडौं - ललितपुर महानगरपालिकाले मापदण्ड विपरित बनेका तथा नक्सा पास नभएका घर तथा भवनको नियमित र अभिलेखीकरण अभियान अन्तिम चरणमा पुर्‍याएको छ । गत फागुन ७ गतेदेखि सुरु भएको अभियान आगामी जेठ ७ गतेसम्म रहनेछ । महानगरपालिकामा नियमित र अभिलेखीकरण गर्नुपर्ने थुप्रै घर तथा भवन रहेको पाइएपछि महानगरले यस्तो अभियान चलाएको महानगरका शहरी विकास योजना महाशाखा तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख तथा डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए । 

उनले महानगरपालिकाभित्र घर मापदण्डभित्र रहे पनि नक्सा पास गर्न बाँकी र मापदण्ड विपरीत भएमा तीन महिनाभित्र नियमित तथा अभिलेखीकरण गर्न सकिने जानकारी दिए । उनका अनुसार महानगरले पहिलो पटक यस्तो मौका जारी गरेको हो । ७० प्रतिशत घर तथा भवन मापदण्डमा नभएपछि महानगरले त्यसलाई नियमित तथा अभिलेखीकरण गर्न कानुन नै निर्माण गरेर अभियान चलाएको उनले बताए । साथै, उनले मंगलबार सम्मको तथ्याङ्क अनुसार २१ सय २० वटा डिजाइनरहरूले निवेदन प्राप्त गरेको पनि जानकारी गराए । 

उनले भने, ‘नक्सा पास नगरी बनाएका र पास गरेर पनि फरक तरिकाले बनाएका भवनहरूलाई लक्षित गरेर हामीले ९० दिनको भाका राखेर अभिलेखीकरण गरेका छौँ । यसको अन्तिम मिति जेठ ९ गतेसम्म छ । अहिलेसम्म २१ सय २० वटा फाइल डिजाइनरहरूले निवेदन दिएका छन् । तर डिजाइनरहरूले यता पठाएको निवेदन चाहिँ १४ सय ११ वटा छ, त्यस मध्य १ हजार ९६ वटा स्वीकार गरिसकेको छौँ । यहाँबाट सबै कागजात मिलेको खण्डमा बल्ल वडामा पठाउँछौँ । 

त्यस्तै, उनका अनुसार महानगरले नियमित तथा अभिलेखीकरणको पनि मापदण्ड राखेको छ । हदैसम्म नियम मिचेका तथा अभिलेखीकरण गर्न नमिल्ने किसिमका घर र भवनलाई भने यो अभियानले समेट्ने छैन । उनले सेवाग्राहीको सहजताको लागि दुई चरणमा नियमित तथा अभिलेखीकरणको व्यवस्था गरेको पनि जानकारी दिए । 

उनले भने, ‘यसको प्रक्रियामा चाहिँ केही अलमल भएको देखियो । पहिला घर धनीले हाम्रा इन्जिनियरलाई भेट्नुपर्छ । पहिलो चरणमा फुटप्रिन्ट मात्र अनलाइनमा अप्लाइ गर्ने हो । त्यही भएर इन्जिनियर चाहिन्छ । घरधनीले आफै गर्न चाहिँ मिल्दैन । घरको नक्सा र फोटो, नागरिकतालगायतका कागजातहरू राखेर सुरुमा दर्ताको लागि पठाउने हो । कागजात ठिक भए मात्र दोस्रो चरणमा पठाउँछौ । कतिपय अभिलेखीकरण नै नहुने अवस्था पनि बन्छ । त्यो चाहिँ बाटो मिचेको हकमा, नदीनालामा छाड्नुपर्ने क्षेत्रफल नछाडेको र विश्व सम्पदा क्षेत्रहरूको भवनहरू भए लगायतका कुरा अभिलेखीकरण भएको छैन ।’

कतिपयले कर उठाउनको लागि मात्र यो अभियान चलाइएको हो कि भन्ने आशङ्का व्यक्त गरिरहेको भन्दै उनले यसमा महानगरको आफ्नो स्वार्थ कुनै पनि नभएको प्रस्ट पारे । ‘यसमा महानगरले आफ्नो स्वार्थ खोज्ने कुरा हुँदैन । जग्गा भएर पनि लाजपूर्जामा आएन भने आफ्नो हुँदैन । आफ्नो सम्पत्तिको अभिलेखीकरण हुनु भनेको आफैमा काम हो । महानगरपालिकाले आवश्यक कर त लिन्छ नै, तिर्नै पर्छ । यो कर तिर्दिन भन्न पनि पाइँदैन । आज तिर्ने हो कि भोलि भन्ने मात्र हो । त्यसै करको लागि मात्र हो भन्ने कुरा चाहिँ होइन ।’ उनले भने । त्यस्तै, उनले नक्सा पासमा भवन मापदण्ड जुन छ त्यही नै नियमित तथा अभिलेखीकरणमा पनि अपनाएको बताए । जुन वर्षमा घर बनाएको हो त्यही वर्षको मापदण्ड अपनाउन पाउने व्यवस्था महानगरले गरेको उनले जनाए । 

ललितपुरले भवन अभिलेखीकरण अरू महानगरपालिकाको भन्दा फरक शैलीमा गरिरहेको छ । उनका अनुसार एउटा ऐन बनाएर ललितपुरले अभिलेखीकरण गरिरहेको छ जुन अरू महानगरपालिकामा छैन । उनले भने, ‘हामीले यही कामका लागि ऐन नै बनायौँ । अरू महानगरपालिकामा यसरी ऐन नै बनाएको अवस्था थिएन । जुन वर्ष घर बनायो त्यही वर्षको मापदण्ड लागू हुने भनेका छौँ । यो सबै हिसाबले अरू भन्दा फरक गरेका छौँ ।’ 

विकास प्रमुख महर्जनले अभियानको ७०–८० दिनसम्म आइपुग्दा पनि दुई हजार घर मात्र कर तिरेर दायराभित्र आएकाले लक्ष्य अनुसारको पूरा हुन नसकेको बताए । अब जेठ ९ गतेसम्म पाँच हजारसम्म पु¥याउने महानगरको लक्ष्य रहेको उनले जानकारी दिए ।उनले भने, ‘७० हजार घरधुरीमा लगभग ५० प्रतिशतले मात्र कर तिरेर दायराभित्र आएका छन् । अहिले ७०–८० दिनसम्म आइपुग्दा पनि दुई हजार मात्र आए । लक्ष्य अनुसारको अझै पनि आएनन् । सुसूचित नगरेर हो वा जनता आफैँ अलमल परेका हुन् पत्तो लगाउन सकिएको छैन । अब जेठ ९ गतेसम्म पाँच हजारसम्म पुग्छ भन्ने हाम्रो लक्ष्य छ ।’

त्यस्तै, उनले अझै पनि जनतामा करको विषयमा गलत बुझाई रहेको भन्दै सबै नागरिकले कर तिर्नुलाई आफ्नो दायित्वको रूपमा लिनुपर्ने धारणा राखे । 

यस्तै, ललितपुर महानगरपालिकाका कर्मचारी भीमसेन केसीले नियमित तथा अभिलेखीकरण अभियान भनेर अहिले जनतामा एकदमै उत्साह छाएको बताए । नक्साहरू दिनमै ५०–६० वटा दर्ता भइरहेको भन्दै वडामा पठाएर आएपछि अभिलेखीकरणमा जाने की नियमितमा जाने भनेर छुटाएर काम हुने उनले जानकारी दिए । 

त्यस्तै, सेवाग्राही मनोज बोगटीले महानगरले यसरी भवन नियमित तथा अभिलेखीकरणको अभियान नै चलाएर राम्रो काम गरेको प्रतिक्रिया दिए । भवन पास गरेर महानगरले सर्टिफिकेट नै दिने भएकाले पनि महानगरको यो कदम राम्रो लागेको उनी बताउँछन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update