
सिन्धुपाल्चोक- महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजू देखाएको छ। ईन्द्रावतीको कुल बजेटको १ दशमलव ४६ प्रतिशत अर्थात २ करोड ६३ लाखको बेरुजु रहेको गाउँपालिका लेखा अधिकृत भाष्कर पन्तले जानकारी दिए।
इन्द्रावतीले समयमै लेखापरीक्षण गराउने, खर्च विवरण सार्वजनिक गर्ने र अनुगमन तथा समीक्षा प्रक्रियालाई प्रभावकारी बनाउने कार्यमा ध्यान दिँदै आएको जनाइएको छ। यसको परिणामस्वरूप गाउँपालिकाले उदाहरणीय वित्तीय अनुशासन देखाएको प्रतिवेदनले उल्लेख गरेको छ।
त्यस्तै, सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिकाले भने सबैभन्दा बढी बेरुजू देखाएको छ। उक्त गाउँपालिकाको बेरुजू १ करोड ६० लाख ९६ हजार रुपैयाँ पुगेको छ, जुन लेखापरीक्षण रकमको ७.५७ प्रतिशत हो।
प्रतिवेदनले बेरुजूको अवस्था सुधार गर्न वित्तीय अनुशासन, पारदर्शिता र जबाफदेहीतामा जोड दिनुपर्ने सिफारिस गरेको छ। जिल्लाका अन्य स्थानीय तहहरूमा पनि बेरुजू देखिए पनि इन्द्रावती गाउँपालिकाको प्रगति उदाहरणीय मानिएको छ। यसको श्रेय गाउँपालिकाका निर्वतमान प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाललाई नै जान्छ।
दुलाल इन्द्रावती आएपछि दुलालले योजना कार्यान्वयनमा पनि कडाइ गरे। आयोजनामा अनियमितता देखिएपछि उनले निगरानी कडा पारेका थिए, जसको परिणामस्वरूप गुणस्तरीय संरचना निर्माण हुनु का साथै उनको प्रशासनिक दक्षता, कडाइपूर्ण कार्यशैली र नेतृत्व क्षमताले स्थानीय तहको सेवा प्रवाह, पूर्वाधार विकास र सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।
इन्द्रावतीलाई देशकै उत्कृष्ट नमुना पालिका घोषण गर्न पनि दुलालले पहल गरेका थिए।