Harsamaya
रोशी खोलाले बगाएको बीपी राजमार्ग मर्मत जारी
वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्ग ।

रामेछाप - वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । 

सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्याएको थियो । ती मध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । 

असोज महिनामा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको बताउँदै उनले आधा घण्टादेखि एक घण्टाको बीचमा दुई तर्फी नै सडक सञ्चालन हुने जानकारी दिए ।

‘म फिल्डमै छु, अन्यत्र खासै क्षति छैन । पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो । बढीमा एक घण्टामा सडक सञ्चालन हुन्छ’, उनले भने । 

बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडक निर्माणको काम भइरहेको छ ।

अन्यत्र काम सकिएको भए पनि सो स्थानमा केही काम बाँकी रहेको योगेशले बताए । सो काम पनि छिटो सम्पन्न गरी वर्षामा पनि यातायात सञ्चालन गर्न सक्ने गरी सडक बन्ने उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update