Harsamaya
राजसंस्था स्थापनाको माग गर्दै एमाले पूर्व सांसद माइतीघर धर्नामा
पूर्व सांसद गंगा चौधरी ।

काठमाडौं - पूर्वसांसद एवम् पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय गंगा चौधरी सोमबार माइतीघर मण्डलामा भेटिएकी छन् । 

गतचैत्र १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरूको रिहाइकालागि उनी धर्नामा सहभागी हुन माइतीघर पुगेकी हुन् । 

राष्ट्रवादी मातृ शक्ति नेपाल नामक पार्टीको ब्यानरमा माइतीघरमा जारी धर्नामा उनीपनि सहभागी छन् । भ्रष्टाचारी, बलात्कार र बेथितिको अन्त्य गर्नको लागि आफूहरू सडकमा आएको बताइन् ।

आस्थाका बन्दीहरुको रिहाइ, घाइतेहरूको उपचार, भ्रष्टाचार, बलात्कार, बेथितिको अन्त्य,हिन्दु अधिराज्य कायम गर राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो । 

सोही धर्नामा सहभाभी पूर्वसांसद चौधरीले देश भ्रष्टाचार, बेथिति र गरिबीको चरम अवस्थामा पुग्दा पनि सरकार कुर्सी जोगाउनतर्फ मात्र लागिरहेको बताइन् । 

उनले भनिन्, ‘आज वर्तमान सरकारले राम्रो काम गरेको भए, ठाँउ ठाँउबाट आमजनताको विरोधको स्वरहरू गुन्जिदैँन् थियो होला। आज जता पनि बेथिति छ, देशमा गरिबीको चरम अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामापनि सरकार कुर्सी कसरी जोगाउने भनेर मात्र लागि रहेको छ ।’

यस्तै, उनले राजाको समयमा २१२ वटा कारखानाहरु संचालनमा रहेर आत्मनिर्भर बनेको नेपालमा आज आयातको अवस्थामा पुगेको बताइन् । उनले भनिन्, ‘हिजोको दिनमा राजाहरूले २१२ वटा कारखानाहरू खोलेका थिए । देशलाई आत्मनिर्भर बनाएका थिए । हाम्रो देशबाट अन्नहरू निर्यात हुन्थ्यो ।

 आज आयातको अवस्थामा कसरी पुग्यौं । यो कुरा नेपाली जनताले खोज्नुपर्छ । नेपालमा उत्पादन भएको कपडा लगाउन पनि गाह्रो हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था कसले गर्दा भएको भन्दा यही वर्तमान सरकार र नेताहरूले हो ।’

एमालेको तर्फबाट समानुपातिक सांसद बनिसकेकी चौधरी गत प्रतिधिसभा चुनावमा एमालेले टिकट नदिएपछि दाङ १ बाट स्वतन्त्र उम्मेदवार बनेकी थिइन । उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका थिए ।

बागी उम्मेदवार बनेपछि चौधरीलाई एमालेले कारबाही गरेको थियो । त्यसपछि उनले धार बदलेकी थिइन् । डेढ बर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवामा पुग्दा उनी स्वागतको लाइनमा देखिएकी थिइन् भने केही महिनाअघि पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमार्फत काठमाडौं आएका ज्ञानेन्द्रको स्वागतमा पनि उनी पुगेकी थिइन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update