Harsamaya
चेलीबेटी बिक्री गर्ने पक्राउ

सिन्धुपाल्चोक - करिब ३० वर्ष पछि भारतको मुम्बईमा लगेर बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । वि.सं. २०४४ मा बबरमहल नामकी (प्रहरीले राखिदिएको नाम) चेलीलाई भारतको मुम्बईमा लगेर बिक्री गरेको आरोपमा सिन्धुपाल्चोक भोटेनाम्लाङका चमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई पक्राउ गरी अदालतबाट सात दिनको म्याद लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ। काठमाडौँको चाबहिलस्थित एक गलैँचा कारखानामा गलैँचा बुन्ने एक बालिकालाई तामाङले ललाइफकाई गरी २०४४ साल पुस १९ गते भारतको मुम्बईमा लगेर ८० हजार रुपियाँमा बिक्री गरेको खुलासा भएको छ। 

मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको ७ नम्बर कोठीमा लगेर बालिकालाई तामाङले बिक्री गरेको प्रहरी कार्यालयले जनाएको छ। ती चेलीले सात वर्षसम्म जबरजस्ती वेश्यालयमा काम गरेको प्रहरीलाई बयान दिएकी छिन् ।  त्यसै क्रममा क्षयरोग रोग लागेपछि २०५१ साल माघमा ती चेली आफ्नै घर सिन्धुपाल्चोक फर्किएकी थिइन् । 

नेपाल फिर्ता भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा २०५२ फागुन १ गते तामाङले आफूलाई झुक्क्याएर मुम्बईको कोठीमा बेचेको जाहेरी दिएपछि सिन्धुपाल्चोक प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरमा २०५२ फागुन ८ गते मुद्दा पुगेको थियो। उक्त मुद्दा थप अनुसन्धानका लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा सक्कल मिसिल पुगेको थियो । उक्त ब्युरोका सूचना अधिकारी नरेन्द्र कुँवरले सक्कल मिसिल प्राप्त भएपछि फरार प्रतिवादी पक्राउ गर्न ब्युरो केन्द्रित रहेको थियो। खोजतलासकै क्रममा ब्युरोले २०८२ वैशाख ११ गते तामाङलाई पक्राउ गरेको थियो। 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update