Harsamaya
अदालतले खोलिदियो रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्ने बाटो

काठमाडाैं - रिलायन्स स्पिनिङ मिल्सलाई शेयर निष्कासन गर्न उच्च अदालत पाटनले बाटो खोलिदिएको छ ।  लामो समय देखि रोक्का रहेको कम्पनीको सार्वजनिक निष्कासन प्रक्रिया अगाडी बढाउन माग गर्दै रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले नेपाल धितो पत्र बोर्डको २०८१ असार २६ को पत्र प्रारम्भिकता नै कानुनसम्मत नभएको ठहर गर्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

कम्पनीले सार्वजनिक निष्काशन सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरी बोर्डबाट विवरण पत्र प्रकाशनको लागि स्वीकृति समेत प्राप्त गरेको सन्दर्भमा विपक्षी बोर्डले बिना आधार, कारण, तथा  आइपिओ निष्कासन प्रक्रिया रोक्का गरेको भन्दै दायर गरेको रिट निवेदनमा अदालतले सो रिट निवेदनको टुङ्गो नलागेसम्म उक्त रोक्का पत्र कार्यान्वयन नगर्नु नगराउनु र उक्त पत्रसँग सम्बन्धित सबै कार्यहरू रोक्का राख्नु भनी अन्तरिम आदेश जारी गरेको छ ।

करिब ३० वर्षदेखि सञ्चालित यस उद्योगले अहिले व्यापार थप विस्तार गर्न लागेको छ । झन्डै चार हजारलाई प्रत्यक्ष रोजगारी दिएको यो उद्योगले शेयर निष्कासन गर्न लागेपछि एउटा पक्षले विरोध गर्नेदेखि अदालत र विभिन्न निकायमा मुद्दा हालेका थिए । सोही कारण कम्पनीको शेयर निष्कासन प्रक्रिया ढिलो भए पनि उच्च अदालत पाटनको पछिल्लो आदेशले भने आइपिओ निष्कासन गर्न दिन बोर्डलाई बाध्य बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update