Harsamaya
गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता
गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारी ।

काठमाडौं - गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबिच भेटवार्ता भएको छ । भैंसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् । भेटमा मन्त्री लेखकले भारतको  जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको बताए ।

आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैँ साथमा रहने बताउँदै मन्त्री लेखकले छिमेकी देशहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए ।

सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता  कोश्यारीले नेपाल र भारतबिच सदियौँदेखि सम्बन्ध रहेको बताए । उनले दुई देशबिचको सम्वन्ध थप मजबुत गर्दै लैजानेमा जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update