
काठमाडौं - काठमाडौंको कोटेश्वर–तीनकुने सडक खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट घर भई हाल ललितपुर धोबी घाट बस्ने २३ वर्षीय नगिना तामाङ रहेकी छिन् । उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते छन्। सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
बिहीबार बिहान ६ः३५ मा काठमाडौं–३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१–०२६च २९२७ भ्यान र बा.प्र.०२–३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरुमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो ।