Harsamaya
 लिङ्देन, थापा, सुवेदी र बिष्टले सामूहिक आन्दोलनको घोषणा गर्ने
राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी ।

काठमाडौं - नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सक्रिय देखिएको छ ।

समितिको आयोजनामा भोलि वैशाख २५ गते सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन , राप्रपा नेपालका अध्यक्ष कमल थापा , राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दुवादी संघ, संस्था र अभियानको सहभागीता रहने बुझिएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नवराज सुवेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरे ।

उनले भने ‘कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपुर्ण हुनेछ’। भोलि हुने कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update