Harsamaya
मुस्ताङमा दुर्लभ ‘ब्ल्याक नेक क्रेन’ भेटियो 
कालो घाँटी भएको क्रेन ।

जोमसोम - मुस्ताङको लोमानथाङ्ग गाउँपालिका – ५ को सिमसार मैदानमा पहिलो पटक कालो घाँटी भएको क्रेनको जोडी भेटिएको छ । हिमाली जिल्ला मुस्ताङ्गको भूगोलमा यसअघि कालो घाँटी भएको क्रेन देखिएको कुरा स्थानीयहरूले भनियता पनि प्रमाणित भएको थिएन । २०८२ वैशाख २२ गते बिहान घोडा हेर्न गएका सुनिल विकले कालो घाँटी भएको क्रेनको जोडी देखेर आफ्नो मोबाइलमा कैद गरेका थियो ।  

कालो घाँटी भएको सारस (ब्ल्याक नेक क्रेन) एसियामा मध्यम आकारको क्रेन हो जुन तिब्बती पठार र भुटानको दुर्गम भागहरूमा वर्षेनी बसाई सराई गर्छन् ।  तिनीहरू पश्चिमी तिब्बत र भुटानको बीचमा बसाइँ सर्छन्, उत्तर तर्फबाट हिमालयको समानान्तर उडान गर्छन् । 

उपल्लो मुस्ताङ्गको स्थानीय भाषामा यसलाई झ्याठुङ्गठुङ्ग (कर्मो) भन्ने गरेको पाइन्छ । सन् २०१९ को भदौ महिनामा चीनको सिमाना आसपासको पानी जमेको ठाउँमा सात/आठ वटा यहीँ प्रजातिको क्रेन देखेको लोमाङ्गथाङ्ग गाउँपालिका –२ का वडा अध्यक्ष कर्मा नाम्गेल गुरुङ्गले बताए । 

‘लामो दुरी सम्म उड्ने चरा र राम्रो देखिने भएको कारणले होला हामीले हाम्रो स्थानीय भाषामा झ्याठुङ्गठुङ्ग (कर्मा) हामीलाई तपाईको आर्केसर्क र लामो पखेटा दिनुस् म सबैलाई लोब्याउदै गाउँ घुमेर आउँछु भनेर स्थानीयहरू हाल सम्म गाउँमा गीत गाउने गरिन्छ’ गुरुङ्गले भने ।

 यो कालो घाटी भएको सारस बच्चा कोरल्न लोमान्थाङ आएको हुन सक्ने सारस संरक्षण कर्ता राजेन्द्र सुलवालले बताए । ‘यो प्रजातिको क्रेनलाई नेपालमा धेरै दुर्लभ मानिन्छ । उनले भने, ‘हाल सम्म हुम्लाको लिमी उपत्यकामा यसले गुँड बनाएको रेकर्ड गरिएको थियो, र पोखरामा एउटा घुमन्ते कालो घाटी भएको सारस देखिएको छ ।’

यो बौद्ध परम्पराहरूमा सम्मानित छ र यसलाई भुटान र तिब्बतमा शान्ति,दिगायु ,पवित्र ,भफदारी ,शुभ दिनको प्रतिकको रूपमा लिने गरेको  संरक्षण विज्ञ डा.शैलेन्द्र थकालीले बताए । भुटानमा यसको संरक्षणको लागि छुट्टै संरक्षण क्षेत्र स्थापना भएको छ । त्यहाँ वर्षेनी सयौँ पर्यटकहरू कालो घाटी भएको सारस हेर्न त्यहाँ पुग्ने गरेको पाइन्छ ।
साथै कालो घाटी भएको सारसको आगमनमा भुटानको फोबझिका उपत्यकामा वर्षेनी नोभेम्बर महिनामा महोत्सव मनाउने गरेको थकालीले बताए । महोत्सव मनाउँदा आशिस पाउने र बाली राम्रो फस्टाउने विश्वास त्यहाँको स्थानीयले गरेको पाइन्छ । 

कालो घाँटी भएका सारसहरूको विश्वव्यापी जनसंख्या लगभग १० हजार देखि १२ हजार रहेको अनुमान गरिएको छ । यी सारसहरू चीन, भारत र भुटानमा कानुनी रूपमा संरक्षित छन् । यो सारसलाई आईसियुनको रातो सूचीमा खतरा नजिक पुगेको प्रजातिहरूको रूपमा स्वचीकृत गरिएको छ । यसलाई भारतको लद्दाख राज्यले ‘राज्य चरा’ को रूपमा मानेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update