
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने,जानकी जयन्तीको दिन बिदा दिन चाँहि छुटाउने भन्दै प्रश्न गरे ।
उनले भने,‘यो सगरमाथाको देश,बुद्धको देश भन्दै गर्दा जानकीको देश भन्ने बिर्सेको छौं । त्यही क्रममा आज जानकी जयन्तीको दिन बिदा पनि छुटाऔं । खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिन्छौं । तर आफ्नै भूमिमा जन्मिएका जानकी जयन्तीमा बिदा दिँदैनौं । दुई वर्ष बिदा दिएको रहेछ तर फेरि हटाएका छौं । राज्य संयन्त्रले आमाको नाममा नागरिकता त दिएन । मन्त्रिपरिषद्मा महिलाको उपस्थिति पनि हामीले कमजोर देखिरहेको छौं । भएको एउटा मन्त्री पनि जानुभयो ।’
त्यस्तै उनले अहिले राजनीतिक प्रतिशोधको क्रम चलिरहेको भन्दै त्यसलाई हेरेर मात्र सँधै चुप लागेर बस्न नसक्ने बताए ।