Harsamaya

जनकपुर - मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरूले मधेश प्रदेश अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्नामा बसेका छन् । विभिन्न गुनासो लिएर आठवटै जिल्लाका करिब ३० जना बढी सहिद परिवारका सदस्यहरू आइतबार बिहान १० बजेदेखि मन्त्रालय अगाडि धर्नामा बसेका छन् । 

उनीहरूले प्रदेश सरकारले आश्वासन दिएर आफूहरूको वास्ता नगरेको आरोप लगाएका छन् । आफूहरूलाई प्रदेश सरकारले जागिर दिएपनि विभिन्न कारण देखाई हटाएको र काम गरिहरेकाहरुलाई पनि एक वर्षदेखि तलब नदिएको गुनासो उनीहरूको छ । 

आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले बेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् । 

उनले सहिद प्रतिष्ठान गठन भएपनि विगतमा एकजना सदस्यको मृत्यु भएपछि आफूहरूको समस्या मन्त्रालयसम्म पुगाउने अब कुनै आधार बाँकी नरेको सुनाएका छन् । 

उनले आफूहरुले सदस्यका लागि नाम सिफारिस गरेको दिएतापनि महिनौंदेखि अलपत्र अवस्थामा प्रतिष्ठान रहेको जनाए ।यता गृह सञ्चार तथा कानुनमन्त्री राज कुमार लेखीले सहिद प्रतिष्ठान ऐन आगामि प्रदेश सभामा प्रस्तुत गर्ने र सो ऐन जारी भएपछि सहिद परिवारको सम्पूर्ण समस्या समाधान हुने बताए । 

उनले विगतका सरकारले सहिद परिवारको सदस्यहरूलाई गम्छा र माला लगाई वर्षमा एक पटक आर्थिक सहयोगको नाममा एक दुई लाख रुपैयाँ दिने गरेकोमा त्यसले आंशिक रूपमा सहिद परिवारका सदस्यहरूलाई केही राहत भेटे पनि दिर्घकालिन समाधान नभएको धारणा राखे । 

सहिद परिवारका सदस्यहरूको दीर्घकालीन व्यवस्थापन गर्न सहिद प्रतिष्ठान ऐन आवश्यक रहेको गृहमन्त्री लेखिले जनाए । उनले सो ऐनको सम्पूर्ण कार्य पूरा भइसकेको र अब बस्ने प्रदेश सभाको पहिले बैठकमै उक्त ऐन पेस हुने जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update