Harsamaya
एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्रमन्त्री राणाको दाबी 
परराष्ट्रमन्त्री आरजु राणा देउवा ।

काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली(एनआरएनए)को परिचयपत्र (एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रुपमा वितरण गर्ने बताएकी छन् । 

एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा बोल्दै परराष्टमन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रुप दिँदै कार्ड वितरण हुने कुरातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् । 

सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि एकता महाधिवेशन शुरु भएको छ । उक्त महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने एनआरएनएका पूर्व अध्यक्षहरुले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि परराष्ट्रमन्त्री देउवाले छिटै वितरणको वाचा गरेकी हुन् । 

परराष्ट्रमन्त्री देउवाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्तर्गत एकता महाधिवेशन भएको भन्दै सवै गैरआवासीय नेपालीहरूलाई मिलाएर लैजान पनि शुभकामना दिइन् । उनले नेपालीहरूको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले बिर्सेर एकता गर्न आग्रह गरिन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update