
काठमाडौं - भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी युवतीको घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।
भुवनेश्वरका प्रहरी आयुक्त एस. देव दत्त सिंहले बिहीबार साँझ ७ बजेतिर नेपालको वीरगन्ज घर भएको प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको बताए। होस्टलबाट मोबाइललगायतका सामग्रीहरु बरामद गरी अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।
‘हामी त्यहाँ पुगेर घटनाका विषयमा अनुसन्धान गरेका छौं । अझ विस्तृत अनुसन्धान गरिनेछ। वैज्ञानिक टोली आइपुगेको छ र सबै आवश्यक विवरणहरू संकलन गरिएको छ। उनको परिवारलाई जानकारी गराइएको छ। शव पोस्टमार्टमको लागि एम्स पठाइएको छ,’ उनले भने ।
घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूको सुरक्षा बारेमा चिन्ता व्यक्त गरिएकाले विश्वविद्यालय परिसर र वरपर सुरक्षा बढाइएको पनि उनले भारतीय संचारमाध्यमहरूलाई जानकारी दिएका छन् ।
घटना थाहा पाउनेबित्तिकै फोरेन्सिक र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको र घटनामा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको उनले बताए । प्रहरी आयुक्तले घटनाको बारेमा विद्यार्थीका अभिभावक र नेपाली दूतावासलाई जानकारी गराइएको बताए। मृतक नेपालको वीरगञ्जका बासिन्दा भएको उनले पुष्टि गरे ।
कम्प्युटर विज्ञानमा बीटेक प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो। उक्त कलेजमा नेपाली छात्रा मृत भेटिएको यो दोस्रो पटक हो ।
यसअघि गत फागुनमा मात्र त्यही कलेजमा नेपाली विद्यार्थी रूपन्देहीकी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन्। साहको घटनापछि नेपाल सरकारले अनुसन्धानका लागि कूटनीतिक पहल गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सरकारले दिल्लीस्थित आफ्नो दूतावासमार्फत यस विषयमा निगरानी गरिरहेको बताएकी छन् ।