-1746117381.jpg)
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिंहदरबारमा बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुपस्थितिले राजनीतिक हलचल पैदा गरेको छ। शान्ति प्रक्रियाका बाँकी कामबारे छलफल गर्न बोलाइएको यो बैठकमा प्रचण्ड जान नमान्नु पछाडि गहिरो असन्तुष्टि र अविश्वासको भावनाले स्थान लिएको देखिएको छ।
माओवादीका एक नेताका अनुसार, ट्रुथ एन्ड रिकन्शिलिएसन (टीआरसी) आयोगसँग नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई जोडेर साटासाटको कथा बनाइएको विषयप्रति प्रचण्ड आक्रोशित छन्। यसै कारण उनले बैठकमा सहभागी नहुने निर्णय गरेका हुन्। यस घटनाले सत्ता गठबन्धन र शीर्ष नेताहरूबीचको भरोसामा दरार देखाएको छ।
प्रचण्डको अनुपस्थितिमा बैठक प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सीमित रह्यो। उनीहरूबीच सरकारको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिने तयारी भइरहेको छ।
नीति तथा कार्यक्रम रोजगार सिर्जना, उद्यमशीलता प्रवर्द्धन, शिक्षा–प्रविधिमा लगानी, सार्वजनिक सेवा सुधार र सुशासनका साथै टीआरसीमा प्रगति जस्ता विषयमा केन्द्रित हुने जनाइएको छ। तर, टीआरसीकै कारण उत्पन्न विश्वासको संकटले अबको राजनीतिक सहकार्यलाई कसरी असर पार्ने हो, त्यो भने हेर्न बाँकी छ।