
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको उल्लेख गरेका छन् ।१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको बताए ।
उनले त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए । उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले ठेक्दारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिकविरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे । राम्रो काम गर्दा गर्दै सरकार बाट हट्नु परेको बताउँदै उनले माओवादी नेतृत्वको सरकारबाट भएका राम्रा कामहरूको चर्चा गरे । उनले सामाजिक सुरक्षाको विस्तार, मिटर ब्याज पीडितको समस्या समाधानका लागि लिएको पहल कदमी, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा अन्तर्गत ल्याउने पहल लगायतका कार्यलाई श्रमजीवी वर्गको हितमा माओवाअदीले गर्न खोजेका उल्लेखनीय काम भएको बताए ।
उनले भ्रष्टाचार विरुद्धको संघर्ष, तराई मधेस लगायतका अभियानमा जनताको दुःख देखेर गरिएको आत्म समीक्षा र जनता आफ्नो वर्ग संघर्षको सम्बन्ध सुधारको अभियानलाई पार्टीभित्र गम्भीर रूपले अघि बढाइएको स्पष्ट पारे ।
झापादेखि कञ्चनपुरसम्म सञ्चालन गरिएको हुलाकी राजमार्ग केन्द्रित अभियानको प्रसंग उल्लेख गर्दै उनले जनताको घरघरमा पुगेर पीडा बुझेको र त्यही अनुभूतिका आधारमा माओवादी पार्टीले आफूलाई सुधारेर श्रमिक र किसानको असली पार्टी बनाउने दृढता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले राम्रो काम गर्दा गर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारियो तर हामी जनतासँग छौं, वर्गसँग छौं भन्दै जनताको पक्षमा संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा नयाँ आन्दोलनका लागि तयार रहन आग्रह गरे ।