
काठमाडौं - सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । यसै गरी राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची छ ।
बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। सङ्घीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले बताए ।
यस अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ । संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।