
काठमाडौं - चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म दुई लाख ७१ हजार १६९ मेट्रिक टन मल आयात भएको हो । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य रहेकोमा नौ महिनामा दुई लाख ७१ हजार मेट्रिक टन मल आयात भएको हो । रासायनिक मलका लागि चालु आवमा २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पाँच लाख ५० हजार मेट्रिक टन मल टेन्डर आह्वान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नौ महिनामा एक लाख ६६ हजार ८३४ मेट्रिक टन युरिया आयात भएको छ । यस्तै ८९ हजार ५९२ मेट्रिक टन डिएपी र १५ हजार २६५ मेट्रिक टन पोटास आयात भएको छ । सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेडले दुई लाख ४२ हजार ३६२ मेट्रिक टन र २९ हजार ३३० मेट्रिक टन साल्ट्र ट्रेडिङ कम्पनीले आयात गरेका छन् । हालसम्म तीन लाख ६ हजार २०९ मेट्रिक टन मल वितरण गरिएको मन्त्रालयले जनाएको छ । ६१ हजार २५९ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
साल्ट्र ट्रेडिङ कर्पोरेसनले थप तीस हजार मेट्रिक टन युरिया कोलकाताबाट ल्याउने क्रममा रहेको जनाएको छ । ३३ हजार मेट्रिक डिएपी मल जेठको पहिलो हप्तामा आइपुग्ने मन्त्रालयले जनाएको छ ।
कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङ कर्पोरेसनले मल आयात गर्ने गरेका छन्। सहकारी संस्थामार्फत किसानलाई मल वितरण हुने गर्छ । नेपालमा मुख्य गरी बर्खे र हिउँदे बालीमा मलको प्रयोग गरिन्छ । धान बाली दुई सिजनमा लगाउने गरिन्छ । चालु आवमा चैते र बर्खे धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक उत्पादन भएको छ । यो वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।