Harsamaya
सर्लाही बहुमुखी क्याम्पसमा शेखर निकटका बागी उम्मेदवार सुजितको ऐतिहासिक जित

सर्लाही - सर्लाहीको सर्लाही बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का बागी उम्मेदवार सुजित कुमार यादवले ऐतिहासिक विजय हासिल गरेका छन्। २०७९ को स्ववियु निर्वाचनमा झिनो मतान्तरले पराजित भएका यादव यस पटक स्वतन्त्र टिकट लिएर मैदानमा उत्रिएका थिए र विजयी भएका छन्।

यादव विद्यार्थीहरूमाझ लोकप्रिय भए पनि नेविसंघका केन्द्रीय अध्यक्ष दुजांग शेर्पाले उनलाई टिकट दिन अस्वीकार गरेका थिए। उनले उक्त क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारका रूपमा सर्लाही नेविसंघका जिल्ला सभापति धिरज यादवलाई अघि सारेका थिए। तर, विद्यार्थीहरूले स्वतन्त्र रूपमा उठेका सुजित यादवलाई अत्यधिक मतले विजयी गराउँदै नेविसंघभित्रको गुटगत राजनीतिलाई कडा सन्देश दिएका छन्।

सर्लाही बहुमुखी क्याम्पसमा भएको यो प्रतिस्पर्धालाई नेविसंघभित्रको गुटगत संघर्षको प्रतिनिधित्वका रूपमा पनि हेरिएको छ। अध्यक्ष दुजांग शेर्पा र शेखर कोइराला समूहकी नेतृ प्रेमिका रानामगरबीचको शक्ति सन्तुलनलाई परीक्षण गर्ने स्थल बनेको यो निर्वाचनले नेविसंघभित्रको आन्तरिक विवादलाई उजागर गरिदिएको छ।

नेता रानामगरले फेसबुकमार्फत् प्रतिक्रिया दिँदै लेखेकी छन्, ‘नेविसंघलाई आफ्नो पुर्ख्यौली सम्पत्ति ठानेर अंशबण्डा गरेझैं टिकट वितरण गरेर विद्यार्थीहरूको मन जित्न सकिन्न। विद्यार्थीले यसको सही उत्तर दिएका छन्।’ उनको यो टिप्पणीले संगठनभित्रको असन्तुष्टिलाई झन् उजागर गरिदिएको छ।

शेखर कोइराला निकट नेविसंघका अर्का नेता धर्मराज शाहीले पनि फेसबुकमा प्रतिक्रिया दिँदै अध्यक्ष शेर्पामाथि कटाक्ष गरेका छन्। उनले लेखेका छन्, ‘प्रिय सुजित यादव भाइ, तिमी अध्यक्षको प्रिय थिएनौ, गुटमा थिएनौ, त्यसैले योग्य हुँदा पनि टिकट पाइनौं । तर, तिमीले प्रमाणित गर्यौ कि विद्यार्थीको आँखामा योग्य नेता तिमी हौ।’

यो प्रतिक्रियाले नेविसंघभित्र गुटगत राजनीति हावी भइरहेको र योग्य विद्यार्थी नेताहरूलाई अस्वीकार गरिँदा संगठनमा असन्तुष्टि बढ्दै गएको देखाउँछ।

उपत्यकाभित्र कमजोर, बाहिर मजबुत नेविसंघ
हिजो सम्पन्न स्ववियु निर्वाचनमा उपत्यका बाहिर नेविसंघको प्रदर्शन सन्तोषजनक रह्यो। पुल्चोक इन्जिनियरिङ क्याम्पस, धौलागिरी बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस, बानेश्वर क्याम्पसजस्ता प्रतिष्ठित क्याम्पसमा समानुपातिक तर्फ पहिलो स्थान हासिल गरे पनि सभापति पदमा पराजय बेहोर्नु परेको छ।

विशेषगरी, काठमाडौं उपत्यकाभित्र नेविसंघलाई गुटगत राजनीति, कमजोर रणनीति, र नेतृत्वको असहमतिले असर परेको देखिन्छ। सर्लाहीको घटनाले भविष्यमा नेविसंघभित्र सुधार नआए विद्यार्थीहरूको समर्थन गुम्ने खतरा औंल्याएको छ।

सर्लाही बहुमुखी क्याम्पसमा सुजित यादवको विजयले नेविसंघभित्रको शक्ति संघर्षलाई थप चर्काएको छ। अब नेविसंघ नेतृत्वले गुटगत राजनीतिलाई हटाएर योग्य उम्मेदवारलाई अघि सार्न सक्ने कि सक्दैन भन्ने प्रश्न उठेको छ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update