Harsamaya
एनसेलले नेपाल सुपर लिगको टाइटल स्पोन्सर गर्ने 
नेपाल सुपर लिग (एनसएल)

काठमाडौं - नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटालाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । एनसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो। 

यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबल प्रेमीको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । 

साथै, यसले नेपालका उदयीमान खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ। नेपाल र नेपाली उपभोक्तालाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोशसँग पनि मेल खाने निश्चित छ । 

सन् २०२१ मा स्थापना भएको एनसएललाई नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update