Harsamaya
प्रेम सम्बन्धका कारण युवकको हत्या गरी शव ९ टुक्रा पार्ने घटनाका मुख्य अभियुक्त पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

महोत्तरी - प्रेम सम्बन्धका कारण २२ वर्षीय युवक विवेक कुमार सरदारको हत्या गरी शव नौ टुक्रा पारेर शौचालयको सेफ्टी ट्याङ्कीमा लुकाएको घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा संलग्न रही फरार रहेका महोत्तरीको बलवा नगरपालिका–७ बनौटा निवासी ३४ वर्षीय जितेन्द्र कुमार ठाकुर पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई मंसिर ९ गते साँझ करिब ५ बजे जलेश्वर नगरपालिका–३ मलिवारा स्थित नेपाल–भारत सीमा क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भदौ १५ गते दिउँसो करिब १२ बजे भंगाहा नगरपालिका–६ निवासी अशोक कुमार वातरका २२ वर्षीय छोरा विवेक कुमार सरदार जलेश्वर नगरपालिका–११ पिगौनस्थित दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकल लिएर घर जान हिँडेका थिए । तर उनी घर नपुगेपछि सोही दिनदेखि बेपत्ता भएका थिए ।

विवेकका परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा खोजतलासका लागि निवेदन दिएका थिए । त्यसपछि प्रहरीले हुलिया परिपत्र जारी गर्नुका साथै सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणलगायतका माध्यमबाट अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा विवेक भदौ १५ गते नै बलवा नगरपालिका–७ स्थित बनौटा गाउँबाट हराएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विवेक र बलवा नगरपालिका–७ निवासी जितेन्द्र कुमार ठाकुरकी श्रीमती २२ वर्षीया सोनु कुमारी ठाकुरबीच प्रेम सम्बन्ध रहेको थियो । यही सम्बन्धका कारण सोनुका घरपरिवारका सदस्यहरूले योजना बनाएर विवेकलाई आफ्नो घरमा बोलाएको र भाग्न उम्किन नदिई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या गरेपछि शवलाई फलामको धारिलो हतियार प्रयोग गरी नौ टुक्रा पारिएको र घरपछाडि रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

घटनापछि फरार रहेका मुख्य अभियुक्त जितेन्द्रलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत महोत्तरी जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले मंसिर १० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update