काठमाडौं - सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने, अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गर्ने, धम्की दिने र मानसिक यातना दिने कार्यमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले ‘अपरेसन डिजिटल स्वाभिमान–महिला तथा बालबालिकाको सम्मान’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यमको बढ्दो प्रयोगसँगै महिला तथा बालबालिकालाई लक्षित गरी अनलाइन दुर्व्यवहार गर्ने, अपमानजनक तथा अशोभनीय अभिव्यक्ति दिने, धम्की दिने, चरित्रहत्या गर्ने, व्यक्तिगत तस्बिर तथा भिडियो दुरुपयोग गर्ने र नक्कली खाता बनाएर सामाजिक प्रतिष्ठामा आँच पुर्याउने घटना बढ्दै गएका छन् ।
यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा अभियान सञ्चालन गरिएको ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौँको टोखा नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ बस्ने ३७ वर्षीय रोहित विक्रम राणा र भारतको बिहार स्थायी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–९ बस्ने ३२ वर्षीय महमद फैसल एजाज रहेका छन् ।
त्यसैगरी इलामको देउमाई नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ बस्ने ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दीको साविक अर्मन गाविस–६ हाल मंगला गाउँपालिका–४ बस्ने ५६ वर्षीय दिलबहादुर मगर र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ बस्ने २५ वर्षीय सुवास कार्की पक्राउ परेका छन् ।
यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ३२ वर्षीय चिरञ्जीवी सापकोटा तथा १५ र १६ वर्षका दुई बालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आशिष तामाङले नक्कली फेसबुक खाता बनाई अश्लील तस्बिर तथा भिडियो पीडित नाबालिकाका आफन्त र साथीहरूलाई पठाएर दुःख, हैरानी दिँदै चरित्रहत्या गर्ने कार्य गरेका थिए ।
रोहित विक्रम राणाले सामाजिक सञ्जाल इमोमार्फत युवतीलाई अश्लील, अपमानजनक तथा अशोभनीय अभिव्यक्ति दिई मानसिक यातना तथा चरित्रहत्या गरेको आरोप छ ।
त्यस्तै, महमद फैसल एजाजले प्रेम सम्बन्ध टुटेपछि पीडितका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी दुःख, हैरानी दिने र चरित्रहत्या गर्ने गरेको प्रहरीको भनाइ छ ।
विमल दर्जी खत्रीले पीडितको गोप्य तस्बिर तथा भिडियो नक्कली परिचयबाट प्रसारण गरी चरित्रहत्या गर्ने कार्य गरेको, दिलबहादुर मगरले फेसबुकमार्फत अश्लील गालीगलौज गरी चरित्रहत्या गरेको र सुवास कार्कीले नक्कली फेसबुक खाता बनाएर अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गर्दै ब्ल्याकमेलिङ गरेको आरोप छ ।
यसैगरी चिरञ्जीवी सापकोटाले ह्वाट्सएपमार्फत पीडित महिलालाई अश्लील गालीगलौज गरी चरित्रहत्या गर्ने कार्य गरेको तथा पक्राउ परेका दुई बालकले पीडितको सामाजिक सञ्जाल खाता ह्याक गरी अश्लील तस्बिर तथा भिडियो बनाएर सार्वजनिक गर्ने धम्की दिँदै रकम माग गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका सबैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।
ब्युरोले आगामी दिनमा पनि अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै विभिन्न माध्यमबाट प्राप्त उजुरी तथा सूचनाको अनुसन्धान गरी यस्ता गतिविधिमा संलग्न व्यक्तिको पहिचान र कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।
साथै, सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार, धम्की, चरित्रहत्या वा अन्य साइबर अपराधबाट पीडित भएकाहरूलाई नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी तथा सूचना दिन प्रहरीले अनुरोध गरेको छ ।

