काठमाडौं - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट १६ लाख ६ हजार ८०० रुपैयाँ बराबरको चिनियाँ मुद्रा युआन बरामद भएको छ। प्रहरीले चेकजाँचका क्रममा दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
भोटेकोशी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि बिहीबार दिउँसो चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो।
मंसिर १० गते दिउँसो करिब ३ः४५ बजे इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौँतर्फ आउँदै गरेको बीएसी ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजीले बोकेको कालो रङको झोलाभित्र लुकाएर राखिएको अवस्थामा चिनियाँ मुद्रा फेला परेको प्रहरीले जनाएको छ।
बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका पाँच थान गरी जम्मा ६६ हजार ९५० युआन रहेको छ। उक्त रकम नेपाली रुपैयाँमा १६ लाख ६ हजार ८०० बराबर हुने जनाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीय सिरेनु ओजी र ४३ वर्षीय चिनियाँ नागरिक वुजियान्दुओजीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्कारपियो गाडीका चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ निवासी २८ वर्षीय मोहन भण्डारीलाई भने आवश्यक अनुसन्धानपछि छाडिएको छ।

