Harsamaya
ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलमा अवैध स्रोतबाट प्राप्त रकम लुकाइछिपाइ राखिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल ४ हजार २१५ दशमलव ०९ र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम फेला पारेको हो।

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल काठमाडौँको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।

बरामद रकम तथा विदेशी मुद्राको स्रोत नखुलेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update