विराटनगर - मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उनका ५५ वर्षीय ससुरा पक्राउ परेका छन् । त्यस्तै, घटनाबारे सोधपुछ गर्दै आफ्नै आमासमेतलाई छेउमा राखेर बालिकालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राख्ने उनका २३ वर्षीय छोरा पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कानेपोखरी गाउँपालिका–६ स्थित पीडितको घरमा गत कात्तिक २९ गते राति बालिकामाथि जबरजस्ती करणी भएको सूचना प्राप्त भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय ५५ वर्षीय जयराम दर्जीलाई तत्काल पक्राउ गरेको थियो ।
दर्जीविरुद्ध मङ्सिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसै घटनालाई लिएर आरोपितका २३ वर्षीय छोराले आफ्नी आमासमेतलाई छेउमा राखेर बालिकालाई सोधपुछ गर्दै कुटपिट गरेका थिए । उनले उक्त घटनाको भिडियो आफ्नै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । सोही विषयमा प्रहरीले उनलाई मङ्सिर ९ गते पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका युवामाथि विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अपनाउँदै आएको जनाएको छ ।

