Harsamaya
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु
नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ।

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा बुधबारदेखि अभ्यास सुरु भएको हो ।

श्री मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले अभ्यासको शुभारम्भ गरेका हुन् । दुवै देशका गणस्तरका सैनिक सहभागी हुने यो अभ्यास आगामी मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ ।

वि.सं. २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘सूर्यकिरण’को १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

यसपटकको अभ्यासमा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा केन्द्रित रहेर दुवै देशका सैनिकले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्नेछन् ।

यस्ता संयुक्त सैनिक अभ्यासले नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सैनिकको व्यावसायिक ज्ञान, सीप र आपसी समझदारी अभिवृद्धि गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update