काठमाडौं - मलेसियामा वैदेशिक रोजगारीका नाममा भएको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ गरेको हो।
सीआईबीले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार अर्याललाई मंसिर १० गते पक्राउ गरिएको हो। ५९ वर्षीय अर्याल स्याङ्जाको कोर्दोण्डा–४ का स्थायी बासिन्दा हुन्। उनी तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए।
प्रहरीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी तथा कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा रकम सङ्कलन गरी विदेश पठाइएको प्रहरीको दाबी छ। सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने गरी रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीहरूमाथि छ।
प्रहरीका अनुसार उक्त प्रकरणमा अमेरिकी डलर ६३ लाख ७० हजार ४३९ दशमलव १२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार १८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसाबराबरको रकम गैरकानुनी रूपमा सङ्कलन तथा विदेश पठाइएको अनुसन्धानको प्रारम्भिक विवरणमा उल्लेख छ।
उक्त रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरूले आफ्नो पद र कर्तव्यविपरीत काम गरेको तथा गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम विदेश पठाउने कार्यमा भूमिका खेलेको प्रहरीको आरोप छ।
यसअघि पक्राउ पुर्जी जारी गर्न अनुमति लिएर अनुसन्धान अघि बढाइएकोमा रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा संलग्न रहेको आरोपमा अर्याललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

