काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारभित्र लुकाएर ल्याइएको १ किलो ८०३ ग्राम ७७० मिलिग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुवा वाङ रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंसिर २ गते बिहान करिब १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका वाङलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो ।
जाँचका क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएका सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थका चार वटा पोका फेला परेका थिए । उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा १ किलो ८०३.७७ ग्राम रहेको प्रहरीले जनाएको छ ।
भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उक्त पदार्थ बरामद भएपछि वाङलाई नियन्त्रणमा लिइएको हो । उनलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

