Harsamaya

मकवानपुर - भीमफेदीमा सवारी दर्ता किताबमा उल्लेख भएको क्षमताभन्दा बढी सिट जडान गरी यात्रु ओसारपसार गर्ने चार वटा विद्युतीय गाडीमाथि कारबाही गरिएको छ।

बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले भीमफेदी गाउँपालिका–६ स्थित चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बढी सिट जडान गरिएका गाडी फेला पारेको हो।

प्रहरीका अनुसार ती गाडीमा तोकिएको १४ सिट क्षमताभन्दा थप चार–चार वटा सिट जडान गरी सञ्चालन गरिएको पाइएको थियो। क्षमताभन्दा बढी सिट राखेर सवारी सञ्चालन गर्नु यात्रुको सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुनुका साथै कानुनविपरीतसमेत रहेको प्रहरीले जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रतिगाडी १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। चारवटै गाडीलाई गरी कुल ४० हजार रुपैयाँ जरिवाना गरिएको हो।

कारबाहीका क्रममा स्थानीय सञ्चारकर्मीहरूको रोहबरमा गाडीमा जडान गरिएका अतिरिक्त सिटसमेत निकालिएको प्रहरीले जनाएको छ।

कारबाहीमा परेका गाडीहरूमा बा.प्र.०८–००१ ज ००४२, बा.प्र.०१–००२ ज ६२३९, बा.प्र.०१–००२ ज ७००६ र बा.प्र.०१–००२ ज ६९८१ नम्बरका विद्युतीय सवारीसाधन रहेका छन्।

प्रहरीले सवारी दर्ता प्रमाणपत्रमा उल्लेखित क्षमताअनुसार मात्रै सवारी सञ्चालन गर्न र यात्रुको सुरक्षालाई प्राथमिकता दिन सवारीधनी तथा चालकलाई आग्रह गरेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update