सर्लाही - छठ पर्वको उल्लासले घरआँगन भरिनुपर्ने बेला सर्लाहीको सडाहीस्थित सुन्दरपुरका निरस रायको परिवारमा भने असह्य पीडा छाएको छ। पर्व मनाउन घर फर्किने क्रममा मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनाले उनको परिवारको खुसी खोसेको छ। २५ वर्षीय छोरा रामदुलार रायलाई गुमाएका निरसका अर्का छोरा देवेन्द्र राय गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन्।
छठ मनाउन घर फर्किँदै गरेका रामदुलार आफ्ना ३० वर्षीय दाइ देवेन्द्रसँगै ईभी गाडीमा सवार थिए। तर, घर पुगेर परिवारसँग पर्व मनाउने सपना बोकेर हिँडेका रामदुलारको यात्रा भीमफेदीमै सधैँका लागि टुंगियो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भयो भने दाइ देवेन्द्र गम्भीर घाइते भए।
‘छोरा घर आउँदैछ’ भन्ने आशामा बाटो हेरिरहेको परिवारले एकाएक छोराको मृत्युको खबर सुन्नुपर्यो। छठको तयारीमा जुट्नुपर्ने घरमा अहिले चित्कार र आँसु मात्रै बाँकी छन्।
निरस रायका लागि यो पीडा झन् असह्य छ। उनले यसअघि नै आफ्नो जेठो छोरा गुमाइसकेका थिए। अहिले फेरि अर्को छोरा रामदुलारलाई पनि दुर्घटनाले खोसेको छ। परिवारका दुई छोरामध्ये एकको मृत्यु भएको छ भने अर्का छोरा देवेन्द्र अस्पतालको शय्यामा जीवनसँग संघर्ष गरिरहेका छन्।
एकपछि अर्को सन्तान गुमाउनु परेको पीडाले निरसको जीवनमा दुःखको पहाड खडा भएको छ। सन्तानको भविष्यका लागि अनेक सपना बुनेका बाबुको आँखामा अहिले ती सपना आँसुसँगै बगिरहेका छन्। छोराहरूको साथमा छठ मनाउने उनको चाहना अब कहिल्यै पूरा नहुने भएको छ।
छठ पर्व परिवारको मिलन, आस्था र खुसीको प्रतीक हो। तर, निरस रायको परिवारका लागि यस वर्षको छठ कहिल्यै नमेटिने चोट बनेर आएको छ। घर फर्किने बाटोमा भएको दुर्घटनाले एउटा परिवारको खुसी मात्र खोसेन, बाबुको काख र घरको आँगनलाई पनि शोकले भरिदियो।
रामदुलारको असामयिक निधन र देवेन्द्रको गम्भीर अवस्थाले सिंगो सुन्दरपुर गाउँलाई स्तब्ध बनाएको छ। छठको उज्यालोमा रमाउनुपर्ने गाउँमा अहिले एउटा बाबुको पीडा, परिवारको आँसु र दुर्घटनाले निम्त्याएको गहिरो शोक छाएको छ।

