काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फको केन्द्रीय सदस्य निर्वाचनमा मतका आधारमा विजयी देखिएकी विनिता खड्का कानुनी विवादका कारण निर्वाचित घोषित हुन सकेकी छैनन्। १५ जना निर्वाचित हुनुपर्नेमा निर्वाचन समितिले हाललाई १४ जनालाई मात्रै निर्वाचित घोषणा गरेको छ।
निर्वाचन समितिका अनुसार खड्काले २ हजार ८६६ मत प्राप्त गरेकी छन्। तर उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल विजयी प्रमाणपत्र नदिने निर्णय गरिएको हो।
खड्का महाधिवेशनकै क्रममा खुलामञ्चबाट पक्राउ परेकी थिइन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ परेकी उनी केही दिन थुनामा बसेपछि छुटेकी थिइन्। यही प्रकरणसँग सम्बन्धित मुद्दाका कारण उनको निर्वाचित हैसियत तत्काल टुंगो लाग्न नसकेको हो।
महिला खुलातर्फ सर्वाधिक मत प्राप्त गर्नेमा वासना थापा रहेकी छन्। उनले ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी छन्। उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो र निमा गिरी ३ हजार ९०६ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका छन्।
त्यस्तै, कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएका छन्। महिला खुलातर्फको नतिजामा खड्काले विजेताको मत पाए पनि कानुनी विवादका कारण प्रमाणपत्र नपाउँदा निर्वाचनको परिणामसँगै उनको निर्वाचित हैसियतसमेत चर्चामा आएको छ।

