Harsamaya
अब सवारी दर्ता र नामसारी गर्न सवारी धनी आफैँ यातायात कार्यालय जानु नपर्ने
पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ।

काठमाडौं - सवारी साधनको दर्ता तथा नामसारी प्रक्रियालाई सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारीको काम गर्न सकिनेछ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउन निर्देशिका संशोधन गरिएको हो ।

संशोधित व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई अन्तिम मान्यता दिइनेछ । यसले गर्दा डिलरबाट जाँच भइसकेको सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन ।

त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि दर्ता तथा नामसारी गर्न सकिनेछ । त्यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन । यस व्यवस्थाले व्यस्तता वा अन्य कारणले कार्यालयमा उपस्थित हुन नसक्ने सवारी धनीलाई सहज हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, सवारी साधन नामसारीका क्रममा आवश्यक जैविक विवरण (बायोमेट्रिक) लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मन्त्रालयले संशोधित व्यवस्थाले सवारी दर्ता तथा नामसारी प्रक्रियामा लाग्ने झन्झट कम गर्नुका साथै सेवाग्राहीको समय र श्रम बचत हुने अपेक्षा गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update