नारायणगढ - चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको मनकामना केबलकार भोलि बन्द हुने भएको छ।
चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
उहाँका अनुसार केबलकारका टावर तथा दुवै स्टेसनको नियमित मर्मतसम्भार र निरीक्षण गर्न सेवा बन्द गरिनेछ। बन्दका क्रममा टावरको मर्मत तथा निरीक्षण गर्नुका साथै दुवै स्टेसनको अवस्थाबारे समेत जाँच गरिनेछ।
बुधबारदेखि भने केबलकार सेवा नियमित रूपमा सञ्चालनमा आउने शेरचनले बताए ।
केबलकार सेवा बन्द रहने जानकारी सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरिएको प्रालिले जनाएको छ। सेवा बन्द हुँदा यात्रुमा पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमायाचना गरेको छ।

