Harsamaya
हात्ती आयो, हात्ती आयो फुस्सा भनेजस्तो हात्तीको समस्या पनि फुस्सा भइरहेको छ - सांसद राना
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापामा बढ्दो हात्ती आतंक नियन्त्रण गर्न तथा निस्सा पाइसकेका सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले झापाली जनता हात्तीबाट प्रताडित भइरहेको बताइन्। दसैं नजिकिँदै गर्दा बालीनाली पाक्ने समयमा हात्तीको समस्या थप बढेको भन्दै उनले नागरिक रातभर नसुती हात्ती धपाउनुपर्ने अवस्था रहेको उल्लेख गरिन्।

‘हात्ती आयो, हात्ती आयो फुस्सा भनेजस्तो हात्तीको समस्या पनि फुस्सा भइरहेको छ,’ उनले भनिन्, ‘सरकारबाट अहिले पनि यसको समाधानका लागि केही कुरा नभएकाले म ध्यानाकर्षण गराउन चाहन्छु।’

रानाले निस्सा पाइसकेका सुकुम्बासीलाई पुनः जग्गा नापी गर्ने भन्दै दुःख दिने काम भइरहेको जनगुनासो आएको पनि बताइन्।

गाउँ तथा बस्तीमा माथिबाट आदेश आउनुपर्ने भन्दै भ्रम फैलाइएको जनगुनासो आफूले सुनेको उल्लेख गर्दै उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन्।

निस्सा पाइसकेका सुकुम्बासीलाई अब थप दुःख नदिई जसरी भए पनि लालपुर्जा उपलब्ध गराउन उनले सरकारसँग माग गरिन्।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update