काठमाडौं - चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा नेपाल–चीन आयात–निर्यातमा प्रत्यक्ष असर परेको छ। रसुवागढी, तातोपानी र कोरला नाका बन्द हुँदा चीनबाट हुने सामानको आयात प्रभावित भएको हो।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढी पूर्णरूपमा बन्द भएको थियो। त्यसको दुई दिनपछि भदौ १२ गतेदेखि काठमाडौंसँग जोडिने तातोपानी नाका पनि बन्द गरिएको जानकारी चीनले नेपाल सरकारलाई गराएको थियो।
त्यसपछि असोज १२ गते कालीगण्डकी नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि कोरला नाकाबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनसमेत रोकिएका छन्।
काठमाडौं उपत्यकाबाट करिब १ सय ४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। दसैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा चीनबाट आयात हुने लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय तथा सजावटका सामग्रीको आपूर्तिमा समेत समस्या देखिएको छ।
तीनवटै व्यापारिक नाका बन्द भएपछि सरकारले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल अघि बढाएको छ। यही क्रममा परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा चिनियाँ दूतावासका प्रतिनिधिसहितको टोलीले अरनिको राजमार्गको स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले तातोपानीदेखि काठमाडौं जोड्ने अरनिको राजमार्गमा ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालन गर्न समस्या नरहेको बताएका छन्।
अरनिको राजमार्गको बाह्रबिसेदेखि कोदारीसम्मका विभिन्न खण्डमा पहिरो व्यवस्थापनको काम भइरहेको छ। वर्षाका कारण कुनै स्थानमा सडक अवरुद्ध भए तत्काल यातायात सञ्चालनमा ल्याउन आवश्यक मेसिन तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको सडक डिभिजन चरिकोटले जनाएको छ।
सहसचिव खड्काको नेतृत्वमा भएको स्थलगत अनुगमनपछि तयार हुने प्रतिवेदनका आधारमा सरकारले चीनसँग थप कूटनीतिक पहल गर्ने तयारी गरेको छ। सरकारले दसैँअघि नै तातोपानी नाका सञ्चालनमा ल्याउने लक्ष्यसहित पहल अघि बढाएको जनाएको छ।

