Harsamaya
सरकारमाथि सांसद सिद्धिकीको प्रश्न - ‘नियुक्ति र सरुवाले कस्तो सुशासन देखायो?’ [भिडियोसहित]
नेकपा (एमाले)की सांसद सजिदा खातुन सिद्धिकी ।

काठमाडौं - नेकपा (एमाले)की सांसद सजिदा खातुन सिद्धिकीले सरकारको नियुक्ति तथा सरुवा प्रक्रियामाथि प्रश्न उठाउँदै सुशासनको नाराअनुसार काम भइरहेको छ कि छैन भन्ने जवाफ मागेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिद्धिकीले सेवा विभागमा एक जना निमित्त हुँदाहुँदै पुनः अर्को व्यक्तिलाई निमित्त नियुक्त गर्नुपर्ने अवस्थामाथि प्रश्न उठाइन्।

‘सुशासनको नारा तपाईंकै हो। तर तपाईंको कस्तो सुशासनको नारा हो? तपाईंले गरेको नियुक्ति र सरुवाले छर्लङ्ग बनाइदियो,’ उनले भनिन्।

उनले नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाइन्। सुरुमा सूचना प्रकाशित गरी आवेदनका लागि समय दिइएको, सरकारकै प्रक्रियाअनुसार अन्तर्वार्तासमेत सम्पन्न गरिएको अवस्थामा २१ दिनपछि पुनः नयाँ व्यक्तिहरूलाई निवेदन दिन लगाइएको भन्दै उनले आपत्ति जनाइन्।

सरकारले ‘भुलवश छुट्न गएको’ भन्दै जनतालाई जानकारी गराएको विषयप्रति पनि उनले प्रश्न उठाइन्। ‘मन्त्रीज्यू, यति हुँदा पनि कुर्सीमा हाँसी–हाँसी बस्न नैतिकताले दिन्छ ?’ उनले प्रश्न गरिन्।

सांसद सिद्धिकीले परिषद्का अध्यक्षसँग सम्बन्धित व्यक्तिलाई सदस्य नियुक्ति प्रक्रियामा ल्याउँदा स्वार्थको द्वन्द्व भए–नभएको स्पष्ट पार्न सरकारसँग माग गरिन्।

यस्तै, सम्बन्धित पेसागत संस्थाहरूको अधिकारिता, सक्रियता र प्रतिनिधित्व क्षमताको मूल्याङ्कन कसरी गरिएको हो भन्ने प्रश्न गर्दै उनले नियुक्ति प्रक्रिया निष्पक्ष रहेको सुनिश्चितता खोजिन्।

उनले सरकारसँग नियुक्ति प्रक्रियाको आधार, मापदण्ड र पारदर्शिताबारे स्पष्ट जवाफ दिन माग गरेकी छन्।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update