काठमाडौं - नारायणी नदी तथा यसका सहायक नदीमा उच्च बाढीको जोखिम बढेको छ। नारायणी नदीको जलसतह खतरा तहभन्दा माथि पुगेर निरन्तर बढिरहेको भन्दै जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ।
महाशाखाका अनुसार नारायणी नदीको जलसतह हाल खतरा तह ९ मिटरभन्दा माथि पुगेर करिब ११ मिटर पुगेको छ। जलसतह अझै बढ्दो क्रममा रहेको छ।
नारायणीको प्रमुख सहायक नदी कालीगण्डकीमा समेत बहाव खतरा तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ। सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि पुगेर बढिरहेको छ। बुढीगण्डकी र त्रिशूली नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
उपलब्ध पूर्वानुमानअनुसार देवघाट बाढी मापन केन्द्रमा नारायणी नदीको बहाव आज दिउँसोसम्म बढ्नेछ। नारायणीको जलसतह आज बिहान ११ बजेतिर करिब १३ मिटर पुग्ने अनुमान गरिएको छ। आज साँझसम्म जलसतह खतरा तहभन्दा माथि नै रहने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ।
नारायणीका सहायक नदीमा पनि आज दिउँसोसम्म उच्च बहाव कायम रहने अनुमान गरिएको छ।
उच्च बहावका कारण चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढीको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ। नदी तटीय क्षेत्र, नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध र संरचना भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाले चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ जान वा स्थानान्तरण हुन अनुरोध गरेको छ।
त्यस्तै, नारायणी तथा यसका सहायक नदीको तटीय क्षेत्रमा आवतजावत नगर्न, नदी किनार, पुल, तटबन्ध तथा जोखिमयुक्त स्थानमा अनावश्यक भीड नगर्न पनि आग्रह गरिएको छ।
कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी तथा त्रिशूली नदी र तिनका शाखा खोलानालामा समेत आज साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने निर्देशन र बाढीसम्बन्धी सूचनाको पालना गर्न पनि अनुरोध गरिएको छ।

