Harsamaya
कुन कुन सडक छन् बन्द ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - भारी वर्षाको पूर्वानुमानसँगै बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै देशका विभिन्न जिल्लामा राजमार्ग तथा सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको हो।

धादिङमा पृथ्वी राजमार्ग, बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र वडा नम्बर १० टिङराङखानी क्षेत्रमा पहिरो तथा बाढीको जोखिम रहेको जनाइएको छ। पृथ्वी राजमार्गमा ८ असोज बेलुका ८ बजेदेखि ९ असोज बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ।

नुवाकोटमा पासाङल्हामु सडकखण्ड तथा टोखा–छहरे सडकखण्डमा जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै ८ देखि १२ असोजसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन तथा पैदलयात्रीको आवागमनमा रोक लगाइएको छ।

रसुवामा बाढी तथा पहिरोको जोखिम रहेको छ। सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र मकवानपुरमा पनि विभिन्न सडकखण्डमा बाढी तथा पहिरोको सम्भावनाका कारण सवारी आवागमनमा रोक लगाइएको छ। सिन्धुलीको बीपी राजमार्ग र दोलखाका जिल्लाभरका सडकखण्ड जोखिममा रहेका छन्।

चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डमा ८ असोज बेलुका ८ बजेदेखि ९ असोज बिहान ५ बजेसम्म राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ।

मनाङमा जिल्ला प्रशासन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ८ देखि १२ असोजसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। गण्डकी प्रदेशका कास्की, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्वमा पनि जिल्लाभित्रका विभिन्न सडकमा बाढी तथा पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ।

सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गलगायत जिल्लाभित्रका अन्य सडकमा बाढी तथा पहिरोको जोखिम रहेको छ। पाँचथरको तुम्वेवा गाउँपालिका–२ नावाखोलामा बाढीको जोखिम देखिएको छ।

भोजपुरमा मध्यपहाडी लोकमार्गलगायत सम्पूर्ण भित्री सडकमा क्षति रोकथामका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। इलाममा मेची राजमार्ग, मेची कोरिडोरलगायत जिल्लाका सम्पूर्ण सडकमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण आवागमन बन्द गरिएको छ।

दाङमा जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम रहेको छ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्ड, शहीद मार्गअन्तर्गत घोराही–होलेरी तथा घोराही–मुर्कुटी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

रोल्पाको रोल्पा नगरपालिका–७ माडिचौरमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण मदन भण्डारी राजमार्गमा पनि सवारी आवागमन रोक लगाइएको छ।

प्रहरीका अनुसार जोखिमयुक्त सडकमा अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीसाधनलाई सम्बन्धित प्रहरी इकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

भारी वर्षाका कारण सडकमा बाढी, पहिरो तथा ढुंगा-माटो खस्ने जोखिम रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update