Harsamaya
 पृथ्वी राजमार्ग बन्द
पृथ्वी राजमार्ग ।

धादिङ -  निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि धादिङमा रातिको समयमा पृथ्वी राजमार्ग बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले आज बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो।

धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जारी गरेको सूचनामा उल्लेख छ।

प्रशासनले वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गमा आवागमन रोकिएको जनाएको छ। प्रशासनले यात्रु तथा सवारीचालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्बन्धित निकायबाट जारी सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी ९८५१२२९८६०, जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ ९८५१३२२५६४ र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस आदमघाट ९८५१२७२७८३ मा समेत सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update