दाङ - भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै दाङमा विभिन्न प्रमुख सडकखण्डमा रातिको समयमा सडक बन्द गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचनाअनुसार असोज ८ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बन्द हुने सडकखण्डमा
- राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड
- भालुबाङ–चकचके (प्यूठान) सडकखण्डको भालुबाङदेखि गनाहा खोलासम्म
- शहीद मार्गअन्तर्गत घोराही–होलेरी सडकखण्ड
- घोराही–मुकुटी सडकखण्ड
- तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रहेका छन्।
सम्भावित बाढी, पहिरो तथा सडक अवरोधबाट हुने जोखिम न्यूनीकरणका लागि रातिको समयमा यी सडकखण्डमा आवागमन रोक्ने निर्णय गरिएको हो।
प्रहरीले सम्बन्धित यात्रु तथा सवारी चालकलाई सडक बन्द हुने समयलाई ध्यानमा राखी यात्रा गर्न र विपद्को जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।

